चारवटा प्रदेशमा आज र भोलि वर्षा, पर्सि प्रदेश १ मा मात्रै

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८ चैत १६ बुधबार
चारवटा प्रदेशमा आज र भोलि वर्षा, पर्सि प्रदेश १ मा मात्रै

काठमाडौं : आज र भोलि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने मौसमविदले बताएका छन् । पर्सि भने प्रदेश १ मा मात्र वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार वर्षा क्षणिक र हल्का खालको हुने छ । बादल लागेर धुम्म हुने अवस्था भने पछिसम्म पनि कायम रहने र प्रदूषण पनि तत्कालै नहट्ने उनले बताइन् ।

भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण अहिले काठमाडौं उपत्यका सहितका भूभागमा हल्का वर्षा भएको छ । मौसम सामान्य अवस्थामा आउन केही दिन लाग्ने मौसमविद मानन्धरले बताइन् ।

अहिले प्रिमनसुन अवधि जारी छ । मार्च १ देखि मे महिनाको अन्तिमसम्मको अवधिलाई प्रिमनसुन अवधि भनिन्छ । यो अवधिमा हावाहुरी चल्नुका साथै मेघ गर्जन र चट्याङ बढी पर्छ । त्यसैले चट्याङबाट जोगिन विशेष सावधानी अपनाउनु पर्ने मौसमविदको सुझाव छ ।