
भक्तपुर : अबको पाँच वर्षमा भक्तपुरलाई कस्तो बनाउने भन्ने विषयमा प्रतिनिधिसभा तथा प्रदेशसभामा नवनिर्वाचित सांसद र पत्रकारबीच अन्तरक्रिया भएको छ । राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरको आयोजनामा बुधबार राधेराधेमा आयोजित कार्यक्रममा सांसदले राजनीतिक आस्था र विचारबाट माथि उठेर जनताको समस्या समाधानमा सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले चुनावसँगै राजनीतिक प्रतिस्पर्धा सकिएको बताए । आफ्ना प्रतिस्पर्धी तथा अघिल्ला कार्यकालका सांसदको अनुभवलाई पनि ग्रहण गरेर अघि बढ्ने उनले बताए । संविधानले परिकल्पना गरेको तीनै तहको सरकारको अधिकार क्षेत्रलाई सम्मान गर्दै आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने थापाले प्रतिबद्धता जनाए ।
‘६०० वर्षअघिको भक्तपुरलाई अहिलेको भक्तपुरसँग दाँजेर हेर्दा हामी विकासको उल्टो गतिमा अघि बढिरहेका छौं । त्यतिबेलाको विकासलाई भेट्न अहिले पनि मुस्किल छ । तर, अबको पाँच वर्षमा बिग्रिएका धेरै कामलाई सही मार्गमा ल्याउने प्रयास गर्नेछु’, सांसद थापाले भने, ‘सडक र पुलको निर्माणबाट मात्रै विकास पूरा हुँदैन । रोजगारीको अवसर, विपन्नलाई गाँस, बास र कपासको अवसर, रोजगारीमा रहेकालाई सामाजिक सुरक्षाको ग्यारेन्टी आदि विकासका मूलभूत अवधारणा हुन्, थापाले भने, ‘त्यसका लागि तीनै तहका सरकारसँग मिलेर काम गर्न चाहन्छु ।’
सवारी चापको व्यवस्थापन गर्न हनुमन्ते, मनोहराजस्ता करिडोरको रोकिएको कामलाई तीब्रता दिने, राधेराधेमा वर्षौंदेखि खण्डहर बनेको व्यावसायिक संरचनालाई कानुनी प्रक्रिया पूरा गरेर सञ्चालन गर्दै युवालाई व्यवसाय तथा रोजगारीमा अवसर दिने उनले बताए । त्यस्तै, भक्तपुर क्षेत्र नं २ प्रदेशसभा (१) का सांसद किरण थापामगरले विकासका बाँकी काम र बन्न नसकेका कानुनको निर्माणमा केन्द्रित हुने बताए । बागमती प्रदेशमा ८४ वटाभन्दा धेरै कानुन बनाउनुपर्नेमा अघिल्लो कार्यकालमा ३८ वटा मात्रै कानुन बनेको र ती अधुरा काम यो कार्यकालमा पूरा हुने उनले बताए ।
यस क्षेत्रमा अस्पताल हुँदाहुँदै पनि उपचारका लागि काठमाडौं जानुपर्ने समस्या समाधान गर्ने, मेलम्ची खानेपानीलाई व्यवस्थित ढंगले उपभोक्ताको घरघरसम्म पु¥याउने व्यवस्था गर्नका लागि केन्द्र र स्थानीय तहसँग प्रदेशको समन्वय गराउने काम आफूले गर्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले अन्तक्रिया कार्यक्रमले अबको पाँच वर्ष जनप्रतिनिधिले कसरी काम गर्छन् भन्ने बुझ्न सहयोग गरेको बताए । आचार्यले जनप्रतिनिधिको सकारात्मक काममा सहयोग र गलत काममा खबरदारी गरिरहने भन्दै रचनात्मक तरिकाले जनताको म्याण्डेड अनुसार काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं २ (२) का सांसद डा. राजेन्द्रमान श्रेष्ठ, भक्तपुर क्षेत्र नं १ (१) का सांसद सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीलगायतको उपस्थिति थियो ।