
काठमाडौं : नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्रीले डिगबहादुर लिम्बूले सिर्जनालाई एक लाख र प्रशिक्षक लामालाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेका हुन् ।
गत मंसिरमा साउदी अरेबियाको रियादमा भएको वल्र्ड पारा तेक्वान्दो ग्रान्डप्रिक्समा विश्व वरीयताका शीर्ष खेलाडीलाई हराउँदै सिर्जनाले उपाधि जितेकी थिइन् ।
सिर्जनाले बहराइनमा भएको एसियाली युथ पारा खेलकुद र इरानमा भएको चौथो डब्लुटी प्रेसिडेन्ट्स कपमा रजत पदक जितेकी थिइन् । सिर्जना चीनमा हुने एसियन पारा गेम्स र फ्रान्समा हुने पारालिम्पिकको तयारी गरिरहेकी छन् । लामाले सन् २०१५ देखि पारा तेक्वान्दो टोली सम्हाल्दै आएका छन् ।
नेपाल तेक्वान्दो संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको सम्मानमा विशेष कार्यक्रमको आयोजना गरेको हो । मन्त्री लिम्बूले सबै मिलेर खेलकुदको बेथिति अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।