ओमानमा सोमबार भएको खेलमा क्यानडालाई आठ विकेटले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।
काठमाडौं : नेपाल आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानमा सोमबार भएको खेलमा क्यानडालाई आठ विकेटले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।
क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कुशल भुर्तेलले अविजित ३४ रन बनाए । यसैगरी दीपेन्द्रसिंह ऐरीले २७ र आसिफ शेखले १७ रन बनाए । कुशल मल्लले भने खाता खोल्न सकेनन् । क्यानडाका कलिम साना र सलमान नजरले एक÷एक विकेट लिए ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा अलआउट हँुदै ८० रनको सामान्य योगफल खडा गरेको थियो । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २४ रन बनाए । यसैगरी कप्तान नवनीत धालिवालले १८, रायन पठानले १४ र सलमान नजरले १० रनको योगदान दिए । नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले चार ओभरमा १२ रन मात्रै खर्चिए । यस्तै अविनाश बोहरा र कमलसिंह ऐरीले दुई÷दुई तथा कुशल मल्लले एक विकेट हात पारे ।
क्यानडालाई पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो । नेपालले तीन खेलमा ६ अंक जोड्यो । तीन खेलमा चार अंक जोडेको ओमानले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनायो । नेपालले फाइनल प्रवेशका लागि मंगलबार समूह ‘ए’को उपविजेता संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । घरेलु टोली ओमानले समूह ‘ए’को विजेता आयरल्यान्डसँग खेल्नेछ । फाइनल खेल भने बिहीबार हुनेछ । फाइनल पुग्ने दुई टोली अस्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुनेछन् ।