काठमाडौं : मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । मच्छिन्द्र अपराजित रहँदैै दोस्रो पटक लिग च्याम्पियन बनेको हो । मच्छिन्द्रले उपाधि जितेको यो दोस्रो पटक हो । यसअघि २०७६ सालमा मच्छिन्द्रले पहिलो पटक उपाधि जितेको थियो ।
शनिबार भएको लिगको अन्तिम खेलमा मच्छिन्द्रले विभागीय टोली एपीएफ क्लबलाई २–१ गोलले हरायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्रलाई जित दिलाउन अभिषेक गुरुङ र रेजिन सुब्बाले एक÷एक गोल गरेका थिए । एपीएफका प्रदीप लामाले एक गोल फर्काए ।
खेलको ४२औं मिनेटमा अविषेक गुरुङले गोल गर्दै मच्छिन्द्रलाई १–० गोलको अग्रता दिलाएका थिए । ६९औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काएका थिए । त्यसपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका रेजिन सुब्बाले ८१औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई २–१ को जित दिलाए । ८६ औं मिनेटमा मच्छिन्द्रका सोनाम भुटिया र एपीएफका आवास लामिछाने दोहोरो पहेलो (रातो) कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
मच्छिन्द्रले १३ खेलमा ३५ अंक जोड्यो । मच्छिन्द्रले ११ जित र दुई बराबरी खेल्यो । विपक्षीको पोस्ट्मा १९ गोल गरेको मच्छिन्द्रले दुई गोल मात्रै खाएको थियो । सुरुवाती चरणमा रेलिगेसनको दबाबमा परेको एपीएफले १३ खेलमा १५ अंक जोड्दै आठौं स्थानमा रहेर लिगको अन्त्य ग¥यो ।
आर्मी फेरि उपविजेता
विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता बनेको छ । शनिबार भएको आफ्नो अन्तिम खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–१ गोलको बराबरीमा रोक्दै आर्मी उपविजेता बनेको हो । आर्मी पछिल्लो पटक २०७६ मा पनि उपविजेता बनेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सुरुवाती अग्रता भने मनाङले लिएको थियो । खेलको ४५औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । ७६औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिन कुएटा टल्लाले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको थियो । सन्तोष तामाङको फ्रि–किक बल मनाङका फ्रान्कलिनलाई लाग्दै जाली चुमेको थियो ।
लिगमा अपराजित आर्मीले १३ खेलमा २३ अंक जोड्यो । न्युरोड टिम एनआरटीसँग अंक बराबरी भए पनि हेड टु हेडमा आर्मी उपविजेता बनेको हो । आर्मीले पाँच खेलमा जित निकाल्दा आठ खेलमा बराबरी खेलेको थियो । मनाङले १३ खेलमा २१ अंक जोड्यो । मनाङले पाँचौं स्थानमा रहँदै लिगको अन्त्य ग¥यो । मनाङले ६ जित, तीन बराबरी र चार हार बेहो¥यो ।
कतार एयरवेजको मुख्य प्रायोजन रहेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मच्छिन्द्रले ७५ लाख रुपैयाँ नगद पुरस्कार पायो । यसैगरी उपविजेता आर्मीले ५० लाख र तेस्रो स्थान हात पारेको एनआरटीले २५ लाख रुपैयाँ पुरस्कार पाए । १४ टोली सहभागी लिगको पुछारमा रहेका च्यासल र ब्रिगेड ब्वाइज भने रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा घटुवा भएका छन् ।
सुनील बल सर्वोत्कृष्ट
गत मंसिर ३ गतेदेखि सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका सुनील बल चुनिएका छन् । मच्छिन्द्र दोस्रो पटक उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सुनील सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले नगद तीन लाख रुपैयाँ प्राप्त गरे ।
यसैगरी फ्रेन्ड्स क्लबका जमौल एन्थोनी सर्वाधिक गोलकर्ता चुनिए । लिगमा सात गोल गरेका उनले गोल्डेन बलसहित दुई लाख रुपैयाँ पाए । मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिँदै दुई लाख नगद पुरस्कार प्राप्त गरे । इमर्जिङ प्लेयर घोषित भएका आर्मीका दिनेश हेन्जनले १ लाख ५० हजार रुपैयाँ पाए । सातदोबाटो युथ क्लबले फेयर प्लेको पुरस्कार पायो ।