काठमाडौं : शुक्रबार रिलिज भएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’बाट अभिनेत्री आलिया भट्टको प्रशंसा भइरहेको छ । आलियाको काम र चलचित्रको समेत सुखद् समीक्षा छ ।
सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रका लागि आलियाले मोटो पारिश्रमिक बुझेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्रका लागि आलियाले २० करोड भारु पारिश्रमिक लिएकी छन् ।
चलचित्रमा अजय देवगणको केमियो भूमिका छ । केमियो भूमिकाका लागि मात्र अजयले ११ करोड पारिश्रमिक लिएको समाचारमा उल्लेख छ । यस्तै चलचित्रकी अर्की अभिनेत्री हुमा कुरेसीले चलचित्रका लागि दुई करोड पारिश्रमिक लिएकी छन् । आलियाले करिअरकै सबैभन्दा उत्कृष्ट अभिनय गरेको चलचित्र भनेर समीक्षकहरुले प्रतिक्रिया दिएका छन् ।
‘गंगुबाई काठियावाडी’मा आलिया भट्टले महिला ग्याङ स्टारको भूमिका निर्वाह गरेकी छन् । यौनकर्मी महिलाको भूमिकामा देखिने गंगुबाई पछि अन्डरवल्र्ड डन बन्ने छिन् । आलिया पहिलो पटक अन्डरवल्र्ड डनका रुपमा चलचित्रमा देखिन लागेकी हुन् । यसैगरी अजय देवगनले भने यस चलचित्रमा गुण्डाको भूमिका निर्वाह गरेका छन् । यो चलचित्र गंगुबाई काठियावाडीको कथा ‘द माफिया क्विन अफ मुम्बई’मा आधारित छ । यो पुस्तक हुसेन जैदीले लेखेका हुन् ।