काठमाडौं : चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालबाट १४ खेलको सहभागिता उचित हुने राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठित हाइ पर्फर्मेस कमिटीले सुझाव दिएको छ । राखेपका तालिम तथा प्रशिक्षक विभाग प्रमुख अर्जुनबहादुर विक संयोजकत्वको कमिटीले तीन महिनापछि शुक्रबार निमित्त सदस्यसचिव कुलबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।
कार्यदलमा अर्जूनबहादुर बिक, (निर्देशक, तालिम तथा प्रशिक्षण विभाग),सदस्य, महेन्द्र राई (निर्देशक, राष्ट्रिय टिम तयारी), सदस्य, संगमसिंह थापा (निर्देशक, नेपाल खेलकुद बिज्ञान प्रतिष्ठान) सदस्य, निलेन्द्र राज श्रेष्ठ (महासचिव, नेपाल ओलम्पिक कमिटि), सदस्य, पार्थ सारथी सेन गुप्त (मिठु), खेल बिज्ञ, सदस्य, सुमन डि.सी., खेल बिज्ञ, सदस्य र हिमाल राज दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), सचिव रहेका थिए ।
१९औं एसियाली खेलकुद आगामी सेप्टेम्बरमा चीनको ह्वाङझोउमा हुँदैछ । कमिटीको प्रतिवेदनमा तीन चरणको तयारी गरी १४ खेलका खेलाडीलाई चीन पठाउँदा उचित हुने उल्लेख छ । संयोजक विकका अनुसार १३ औं दक्षिण एसियाली खेलकुद र केहि खेलको पछिल्लो समयको प्रदर्शनका आधारमा खेल संख्या सिफारिस गरिएको जानकारी दिए ।
‘१३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका खेलहरु र पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका महिला भलिबल, ब्याडमिन्टनलगायतका खेलसमेत समेटेर १४ खेलको सहभागिता उचित हुने भनेका हौं,’ विकले भने, ‘त्यसबाहेक १३औं सागमा रजत र कांस्य जितेका खेलहरु प्राथमिकतामा पर्नेछन् । ती खेलहरु समावेश गर्दा तयारी र सहभागिताको खर्चसमेत मूल्यांकन गरिएका छौं ।’
१३औं दक्षिण एसियाली खेलकुदमा नेपालले १३ खेलबाट ५१ स्वर्ण जितेको थियो । त्यसबाहेक यही वर्ष नेपालको महिला भलिबल टोलीले सेन्ट्रल जोन भलिबलको उपाधि जितेर फर्किँदा विमानस्थलमा स्वागत गरी खेलकुदमन्त्री महेश्वरजंग गहतराजले टिमलाई एसियाली खेलकुदमा सहभागी गराइने घोषणा गरेका थिए । त्यसबाहेक ब्याडमिन्टन जुनियर विश्व वरीयताको शीर्ष स्थानमा रहेका प्रिन्स दाहालको सहभागिता पनि आवश्यक हुन सक्छ ।
हाइ पर्फर्मेस कमिटीले राष्ट्रिय टोलीको प्रशिक्षणमा तीन चरण उपाय अपनाएर एसियाली खेलकुदको तयारी गर्नुपर्ने सुझावसमेत दिएको छ । एसियाली खेलकुदमा समावेश इभेन्टका लागि राखेपबाटै खर्च उपलब्ध गराउने गरी राष्ट्रिय छनोट आयोजना गर्ने र छानिएर आएकाहरुलाई तीन चरणमा बन्द प्रशिक्षणमा राख्नुपर्ने सुझाव प्रतिवेदनमा छ । नवौं राष्ट्रिय खेलकुद समयमा नहुने भएपछि यो विकल्प पेश गरिएको हो ।
‘छनोटमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पहिलो चरणमा समावेश गरिने । दोस्रो चरणमा एकजनालाई निकालेर तयारी गरिने । त्यहाँबाट एकजना उत्कृष्ट छानेर बैदेशिक प्रशिक्षण, अभ्यासमा सहभागी गराएर सेप्टेम्बरमा एसियाली खेलकुद आयोजना गर्ने गरी सुझावसहितको प्रतिवेदन बुझाएका हौं,’ विकले भने ।
टंकलाल घिसिङले राखेप सदस्यसचिवको नियुक्ति लिएलगत्तै मंसिर २४ मा विकको संयोजकत्वमा ७ सदस्यीय कमिटी गठन भएको थियो । कमिटीले प्रतिवेदन तयार गरे पनि एक साता नवित्दै सर्वोच्च अदालतको आदेशबाट राखेप कार्यकारी नेतृत्वविहीन भएपछि समितिले प्रतिवेदन बुझाउन सकेको थिएन ।
युवा तथा खेलकुद मन्त्रालयले फागुन ४ गते राखेप कर्मचारी कुलबहादुर थापालाई निमित्त सदस्यसचिवको जिम्मेबारी दिएपछि प्रतिवेदन बुझाइएको हो ।
समितिका संयोजक विकले एसियाली खेलकुदको समय नजिकिँदा राष्ट्रिय टिम तयारी ढिला भइसकेको बताए । ‘हामीले जिम्मेबारी पाएलगत्तै काम सम्पन्न गरेका थियौं । त्यतिबेलैदेखि कार्यान्वयन हुन पाएको भए अहिलेसम्म राष्ट्रिय टिम तयार गरी प्रशिक्षण सुरु भइसकेको हुन्थ्यो । अब त ढिला भइसकेको छ,’ उनले भने ।