नेविसंघ नेतृत्वमा ३२ वर्षमुनिको खोजी : कसले मार्लान् बाजी ?

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, फागुन २२ आइतबार
नेविसंघ नेतृत्वमा ३२ वर्षमुनिको खोजी : कसले मार्लान् बाजी ?

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको नेतृत्वका लागि दौडधुप सुरु भएको छ । कांग्रेसले म्याद सकिएका भ्रातृसंस्था भंग गरेपछि नयाँ नेतृत्वको लागि दौडधुप सुरु भएको हो । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित १० भ्रातृसंस्था खारेज गर्दै फागुनभित्र नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो ।

यतिबेला कांग्रेसमा नेविसंघको नेतृत्वको खोजी सुरु भएको छ । नेविसंघमा विधान अनुसार ३२ वर्षे उमेर हद लागू गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसको नर्सरीका रुपमा चिनिने नेविसंघको नेतृत्वमा को आउँछ भन्ने कौतुहला पनि बढेको छ ।

नेताहरुले आफूनिकटलाई नेविसंघको नेतृत्वमा ल्याउन लबिइङ गरिरहेका छन्, भने नेतृत्वका आकांक्षीहरुले भने नेताहरुको घरदैलो अभियानलाई तीब्र बनाएका छन् । नेविसंघको अब बन्ने केन्द्रीय कार्यसमिति सहमतिमै चयन हुने भएकाले आकांक्षीहरुले आफूलाई टीममा पार्न सक्रियता बढाएका छन् ।

नेविसंघको नेतृत्वमा रहेकाहरु कालान्तरमा पार्टीको केन्द्रीय राजनीतिमा पनि स्थापित भएको इतिहास छ । त्यस्तै कांग्रेसमा अन्य भ्रातृसंस्थाहरुभन्दा बढि चलायमान हुने र सक्रिय संगठन भएकाले पनि नेविसंघमा आफू अनुकुल नेतृत्व ल्याउन पार्टीकै प्रभावशाली नेताहरु पनि उत्तिकै सक्रिय छन् ।

नेविसंघको अध्यक्षका लागि मनीषजंग थापा, मेघा शाही, प्रेमबहादुर शाही, निरञ्जन थापा उत्तम साउद, हिमान्त भण्डारी, गीता गुरुङलगायत छन् । त्यस्तै नेविसंघको अध्यक्षमा डोजाङ शेर्पा, चन्द्र विक, नवराज त्रिपाठी, एलिजा ढकाललगायतको नाम पनि चर्चामा छ ।

पार्टीमा भागवण्डाकै आधारमा भ्रातृसंस्थामा नेतृत्व चयन हुने चर्चा कांग्रेसभित्र छ । कांग्रेसको प्रमुख भ्रातृसंस्था नेविसंघको नेतृत्व संस्थापन पक्षले आफैसँग राख्ने आकलन छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट समूहबाटै नेविसंघको नेतृत्व हुने बताइन्छ । भ्रातृसंस्थाको नेतृत्व चयनका लागि कांग्रेस पदाधिकारी तहमा छलफल भइरहेको नेताहरु बताउँछन् ।