सम्बन्ध विच्छेद गरेका महिलाले अर्को बिहे गरेमा पहिलेको अंश फिर्ता गर्नुपर्ने

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत ४ शुक्रबार
सम्बन्ध विच्छेद गरेका महिलाले अर्को बिहे गरेमा पहिलेको अंश फिर्ता गर्नुपर्ने

काठमाडौं : नेपाल कानुन आयोगले सम्बन्धविच्छेद गरेका महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेको छ । मुलुकी देवानी संहिता ऐन– २०७४ को संशोधन प्रस्ताव अघि बढाउँदै आयोगले ऐनको दफा १०३ मा नयाँ व्यवस्था थप्न लागेको हो ।

उक्त व्यवस्थामा ‘अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतिका तर्फबाट छोरा छोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्वपति वा पूर्वपतिका अंशियारले पाउनेछन्’ भन्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

अहिले अकस्मात मुलुकी देवानी संहिता संशोधन गर्नुपर्ने आवश्यकता किन देख्नुभयो ? भन्ने प्रश्नमा नेपाल कानून आयोगका अध्यक्ष जागेश्वर सुवेदीले आयोग आफैंले कानुन परिमार्जनको काम नगर्ने र कानुन मन्त्रालयको आग्रहमा आयोगले कानुन संशोधनका विषयमा अध्ययन गर्ने बताउँदै आयोगले मस्यौदा बनाइदिने मात्रै काम गर्ने बताए । ‘गतवर्ष नै आयोगले मुलुकी अपराध संहिताको संशोधन विधेयक तर्जुमा गरेर कानुन मन्त्रालयलाई पठाइसकेको रहेछ । देवानीको मात्रै बाँकी रहेकाले यसपालि छलफल प्रक्रिया अघि बढाइएको हो’, उनले भने ।

उनले सामान्य छलफलका क्रममा यो प्रस्ताव आएको जानकारी दिँदै मस्यौदा एकदमै प्रारम्भिक चरणमा रहेको बताए । ‘महिलाले पाएको अधिकार हामीले खोस्न खोजेको होइन । अलिकति केही अधिकार दुरुपयोग भयो कि भनेर अंकुश लगाउन खोजेको हो’, उनले भने, ‘सम्बन्धविच्छेदका क्रममा महिलाले पतिबाट अंश पाउँछन् । (विवाह गरेर) कहीं गएनन्, एकल भएर बसेमा सम्पत्ति फिर्ता गर्नुपर्ने होइन । कतिपय अवस्थामा विहे गरेको कुरा पनि सुनियो । विवाह गर्दै र सम्पत्ति संकलन गर्दै जाने गरेको कुरा सुनियो । कतै कसैबाट त्यस्तो भएको सुनिएको हुनाले अर्को ठाउँमा विहे गरेर गएपछि पहिलो लोग्नेबाट ल्याएको सम्पत्ति त फिर्ता गर्नुपर्ने हो कि रु यो कस्तो होला भनेर प्रस्ताव गरिएको हो र यसमा सामान्य छलफल भएको हो ।’

यो प्रस्ताव अहिले किन आवश्यक भयो भन्ने प्रश्नमा उनले महिलाले कमाएको सम्पत्ति फिर्ता दिनुपर्ने र भाग लाग्ने कुरामा सत्यता नभएको बताए । ‘पहिलाको लोग्नेबाट आएको सम्पत्ति मात्रै फिर्ता गर्ने हो । त्यसमा पनि आफूले खर्च गरिसकेको छ भने फिर्ता गर्ने कुरा भएन । बाँकी रहेको छ भने फिर्ता गर्ने हो’, उनले भने, सम्बन्ध विच्छेद गरेर बसेकी कोही महिला अर्को विवाह गरेर जाने भइन् भने (पूर्वपतिबाट पाएको सम्पत्ति) बचेको भए फिर्ता गर्ने हो, भोग गरेर सकिएको भए त के फिर्ता गर्नु र !’