प्रदर्शनको एक सातापछि 'द कश्मीर फाइल्स' नेपालमा

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत ५ शनिबार
प्रदर्शनको एक सातापछि 'द कश्मीर फाइल्स' नेपालमा

काठमाडौँ : भारतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को साथ र समर्थन पाइरहेको तर समीक्षकका तर्फबाट खासै राम्रो प्रतिक्रिया नपाएको फिल्म 'द कश्मीर फाइल्स' नेपाल प्रदर्शनमा आउने भएको छ । फिल्मले भारतीय बक्स अफिसमा राम्रो 'कलेक्सन' गर्न थालेसँगै नेपालका वितरकले प्रदर्शनको एक सातापछि फिल्मलाई नेपाल ल्याउँदैछन् । 

'भारतमा त यो फिल्मले हरेक दिन रेकर्ड बनाइरहेको छ । ४ करोडबाट ओपनिङ गरेको फिल्मले बुधबार झन्डै २० करोड कमायो । सुरुमा त हामीलाई पनि यो फिल्मले यस्तो गर्ला भन्ने थाहा थिएन । त्यसैले एक हप्तापछि नेपाल ल्यायौं,' वितरक मनोज राठी बताउँछन् ।

सन् १९९० मा कश्मीरबाट पलायन भएका कश्मीरी पण्डितबारे बनाइएको भनिएको यस फिल्मलाई विवेक अग्निहोत्रीले निर्देशन गरेका हुन् । विशेषगरी सत्तारुढ भाजपा सरकारबाट प्रशंसा गरिएको फिल्म भने सन्तुलित नभएको प्रतिक्रिया आएका छन् । भाजपाशासित प्रदेश सरकारहरूले फिल्मलाई करछूटको घोषणासमेत गरेका छन् । मध्य प्रदेश सरकारले त फिल्म धेरैले हेरून् भनेर बिदासमेत दिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले समेत फिल्मको प्रशंसा गरे भने भाजपा मन्त्रीहरुसमेत फिल्मको तारिफसँगै फिल्म हेर्न जान सामाजिक सञ्जालमार्फत आह्वानै गरेका छन् ।

सामाजिक सञ्जालतिर फिल्मको पक्ष विपक्षमा बोल्नेहरु बढेका छन् । विशेषगरी कश्मीरी पण्डितबारे बनाइएको यस चलचित्रमा एकतर्फी कुरा देखाइएको समीक्षकहरू बताउँछन् । कश्मीरी पण्डितको वास्तविक अवस्थालाई चित्रित गर्नुभन्दा पनि धार्मिक तुष्टिकरण गर्ने उद्देश्यले फिल्म बनाइएको कतिपयको आरोप छ । कलाकारहरू अक्षय कुमार र कंगना रनावतले भने फिल्मको पक्षमा ट्विट गरेका छन् । निर्देशक अग्निहोत्रीले फिल्ममा विश्वविद्यालय पढ्दै गरेको एक विद्यार्थीले आफ्नो कश्मीरी हिन्दु परिवार मारिएको खबर पाएसँगैको कथालाई फिल्ममा देखाएका छन् ।

प्रदर्शनको एक सातापछि नेपाली हलहरूमा यो फिल्म नेपाली फिल्म 'चिसो एस्ट्रे', 'बच्चन पाण्डे' र 'जापानिज एनिमी'सँगै प्रदर्शनमा आउँदैछ ।

चलचित्रमा मिथुन चक्रवर्ती, अनुपम खेर, दर्शन कुमार, पल्लवी जोशीलगायतका कलाकारको अभिनय छ भने चलचित्र निर्देशक अग्निहोत्री र सौरभ पाण्डेयले लेखेका हुन् ।