क्रिकेट विश्वकप लिग–२ : नेपालले आज यूएईसँग खेल्दै

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत ७ सोमबार
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

पछिल्ला खेलमा पराजित दुवै टोली आज जित हात पार्ने लक्ष्यमा छ । नेपाल पछिल्लो खेलमा यूएईसँग नै पराजित भएको थियो भने त्यसपछि यूएई पपुवा न्यु गिनीसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई हराएको थियो ।

अघिल्लो खेलमा ब्याटिङमा कमजोर देखिएको नेपालका लागि यूएईविरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने देखिएको छ ।
 

पछिल्लो समय यूएईमा लयमा देखिएको छ । एक महिनाअघि टीट्वेन्टी विश्वकप छनोट र त्यसअघिको टीट्वेन्टी सिरिजमा पनि नेपाल यूएईसँग पराजित भएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले यूएईलाई पछिल्लो पटक सन् २०१९ मा उसैको मैदानमा हराएको थियो । आजको खेलमा नेपाललाई यूएईविरुद्ध बदला लिँदै खेल जित्ने अवसर छ ।

नेपाल र यूएईबीच अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा ५ खेल भएका छन् । जसमा नेपालले २ खेल जितेको छ भने ३ खेल हारेको छ ।