काठमाडौं : नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध लगातार दोस्रो खेलमा पनि पराजय बेहोरेको छ । सोमबार दुबईमा भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा यूएईसँग लगातार दोस्रो हार बेहोरेको हो ।
खराब ब्याटिङले निरन्तरता पाएको खेलमा नेपाल घरेलु टोली यूएईसँग ९९ रनले पराजित भएको हो । यूएईले दिएको दुई सय तीन रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा एक सय तीन रनमै समेटिएको थियो । नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । उनले ६५ बल खेल्दै दुई चौका हिर्काए । यस्तै आरिफ शेख र सोमपाल कामीले समान १५ र विनोद भण्डारीले १२ रन बनाए । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालले यूएईविरुद्ध तीन खेलाडी परिवर्तन गरेको थियो । आसिफ शेखको ठाउँमा टोलीमा स्थान बनाएका प्रारम्भिक ब्याट्सम्यान पवन सर्राफले दुई रन मात्र जोड्न सके । विकेटकिपर विनोद भण्डारीले १२ रन बनाउँदा विक्रम सोबले अविजित एक रन बनाए । नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको खराब लय लगातार तेस्रो खेलमा पनि जारी रह्यो । उनले यूएईविरुद्ध पाँच रन मात्रै बनाउन सके । प्रारम्भिक ब्याट्सम्यान चाँडै पेभेलियन फर्किंदा मध्यमक्रमका खेलाडीमा दबाब परेको थियो । जसका कारण नेपालले लगातार विकेट गुमाउन पुग्यो । यूएईका जुनैद सिद्दिकीले चार विकेट लिए । यसैगरी कासिफ दाउद र जाहोर खानले दुई÷दुई तथा बसिल हमिदले एक विकेट हात पारे ।
त्यसअघि दुबई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय दुई रन जोडेको थियो । यूएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । यसैगरी मोहम्मद वासिमले ३३, चिराग सुरीले २६, भृत्या अरविन्दले २४, अलिसान सराफुले २१ र बसिल हमिदले १७ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै करण केसी र सोमपाल कामीले दुई÷दुई तथा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक÷एक विकेट हात पारे ।
नेपालले मंगलबार त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा सात टोली छन् । नेपालले अहिलेसम्म ११ खेलमा १० अंक जोडेको छ । नेपाल लिगको छैटौं स्थानमा छ । दुई अंक जोडेको पपुवा न्युगिनी पुछारमा छ । लिगको शीर्ष स्थानमा रहेको ओमानले २८ खेलमा ३६ अंक जोडेको छ । यस्तै दोस्रो स्थानको यूएईले १८ खेलमा २२ अंक जोडेको छ । तेस्रो स्थानको स्कटल्यान्डले १२ खेलमा १६, चौथो स्थानको नामिबियाले १४ खेलमा १४ र पाँचौं स्थानको अमेरिकाले १६ खेलमा १४ अंक जोडेको छ ।