काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि लगातार दोस्रो जित निकालेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा मंगलबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई सात विकेटले पराजित गरेको हो ।
एक सय ७४ रनको लक्ष्य पछ्याएको नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर जित निकालेको हो । नेपाललाई प्रभावशाली जित दिलाउन आरिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय पालि खेले । लामो समय क्रिजमा जमेका आरिफले एक सय दुई बल खेल्दै अविजित ५९ रन बनाए । कुशलले ६४ बलमा ५० रनको योगदान दिए । यसैगरी रोहित पौडेलले ४४ रन बनाउँदा आसिफ शेख दुई रनमा पेभेलिएन फर्किए । पपुवा न्युगिनीका चाल्र्स अमिनीले दुई तथा काबुअ मोरिअले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रनको योगफल खडा गरेको थियो । पपुवा न्युगिनीका कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए । यस्तै चाद सोपरले २२, लेगा सिएकाले २०, सेसे वौउले १९, नोरमन भानुअले १८ र चाल्र्स अमिनीले १३ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई÷दुई विकेट लिए । यस्तै करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक÷एक विकेट हात पारे ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो । यसैगरी यूएईविरुद्धको दुवै खेलमा भने नेपालले राजय बेहोरेको थियो । पहिलो खेलमा घरेलु टोली यूएईसँग ४८ रनको पराजय बेहोरेको नेपाल दोस्रो खेलमा ९९ रनले स्तब्ध बनेको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा सात टोली छन् । नेपालले अहिलेसम्म १२ खेलमा १२ अंक जोडेको छ । नेपाल लिगको छैटौं स्थानमा छ । दुई अंक जोडेको पपुवा न्युगिनी पुछारमा छ । लिगको शीर्ष स्थानमा रहेको ओमानले २८ खेलमा ३६ अंक जोडेको छ । यस्तै दोस्रो स्थानको यूएईले १८ खेलमा २२ अंक जोडेको छ । तेस्रो स्थानको स्कटल्यान्डले १२ खेलमा १६, चौथो स्थानको नामिबियाले १४ खेलमा १४ र पाँचौं स्थानको अमेरिकाले १६ खेलमा १४ अंक जोडेको छ ।