चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत ११ शुक्रबार
चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणमा विदेशमन्त्री वाङ तीन दिने भ्रमणका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। पाकिस्तानबाट आफ्नो भ्रमण सुरु गरेका वाङ अफगानिस्तान हुँदै बिहीबार भारत पुगेका छन्। उनी भारतबाट आज नेपाल आउन लागेका हुन्।

नेपाल बसाइको क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), परराष्ट्रमन्त्री खड्कालगायत शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् ।

परराष्ट्रमन्त्री डा. खड्का र यीबीच शनिबार औपचारिक भेटवार्ता हुनेछ। त्यस क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गत सम्झौता भएका परियोजना र त्यसको प्रगति विवरणबारे छलफल हुनेछ। नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. खड्का र चीनका तर्फबाट चिनियाँ विदेशमन्त्री यीले बैठकको नेतृत्व गर्नेछन्। 

बीआरआईअन्तर्गत नौवटा परियोजना छन्। यीमध्ये कुनै पनि परियोजना प्रभावकारी ढंगले अघि बढेका छैनन्। नेपाल सरकारले परियोजना कार्यान्वयनमा उदासीनता देखाएको भन्दै चीन सशंकित छ। राष्ट्रपति भण्डारीले केही दिनअघि चीन सरकारको मुखपत्र ‘ग्लोबल टाइम्स’लाई अन्तर्वार्ता दिँदै बीआरआईअन्तर्गतका परियोजना अपेक्षित रूपले अघि बढ्न नसकेकोप्रति दुःख व्यक्त गरेकी थिइन्। चीनले नौ परियोजनामध्ये केरुङ–काठमाडौं रेलमार्गलाई प्रतिष्ठाको विषय बनाएको छ। सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि परियोजनाहरू अघि बढ्न नसक्नुमा बीआरआईका परियोजनामाथि ‘भूराजनीति प्रभाव’परेको हुन सक्ने विज्ञले बताउन थालेका छन्।  

अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछिको परिवर्तित भूराजनीतिक र त्यसले सिर्जना गर्न सक्ने सम्भावित सुरक्षा अवस्था बुझ्न चिनियाँ विदेशमन्त्री वाङ काठमाडौं आउन लागेका हुन्। एमसीसी आफूविरुद्ध भएको चिनियाँहरूको बुझाइ छ। चिनियाँ राष्ट्रपति सी जिङपिङले एमसीसी अनुमोदन हुनुअगावै नेपालमा वाङको भ्रमण गराउन चाहेका थिए। तर त्यति बेला सफल हुन सकेन। वाङको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

चिनियाँ विदेशमन्त्री वाङले पछिल्लो पटक नेपालमा भइरहेका चीनविरोधी गतिविधिबारे प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग महत्वका साथ प्रश्न उठाउने तयारी गरिरहेका छन्। नेपालमा पछिल्लो पटक भइरहेका राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको चीनले आफ्नो बलियो उपस्थिति जनाउन राष्ट्रपति सीले विशेष दूत बनाई वाङलाई नेपालको तीनदिने भ्रमणमा पठाएका हुन्।

सुरक्षाको व्यवस्थापन कडा

गृहमन्त्री बालकृष्ण खाणले चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा आवश्यक सुरक्षाको व्यवस्थापन गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्। सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाणले तीनवटै सुरक्षा निकायलाई निर्देशन दिँदै सम्भावित सुरक्षा चुनौतीको अग्रिम व्यवस्थापन गर्न निर्देशन दिएका थिए। 

गृहले  विगतमा चीनविरोधी व्यक्ति र संस्थालाई निगरानीमा राख्न सुरक्षा निकायलाई निर्देशन दिएको हो। प्रहरीले लाजिम्पाटस्थित तिब्बती शरणार्थीको मुख्य कार्यालयलगायत उपत्यकामा रहेका तिब्बती शरणार्थी शिविरमा निगरानी बढाएको छ। ललितपुरको जावलाखेल, काठमाडौंका स्वयम्भू र बौद्धमा शिविर छन्।

वाङ नफर्किएसम्म तिब्बती नेता र विगतमा चीनविरोधी प्रदर्शन र गतिविधि गर्दै आएका व्यक्तिमाथि निगरानी राखिने प्रहरी अधिकारी बताउँछन्।