नेपालको लगातार हार : पीएनजीलाई शृंखला

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत १२ शनिबार
नेपालको लगातार हार : पीएनजीलाई शृंखला

काठमाडौं : पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा पनि नेपालले पराजय बेहोरेको छ । शुक्रबार पपुवा न्युगिनीसँग ६ रनले स्तब्ध बनेको नेपालले शनिबार तीन विकेटले नतिजा सुम्पिएको हो । पपुवा न्युगिनीले यूएईमा आईसीसी विश्वकप क्रिकेट लिग–२ मा भोगेको दुवै हारको बदला पनि लिएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्युगिनी पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा सात विकेटले पराजित भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाललाई तीन विकेटले हराउँदै पपुवा न्युगिनीले शृंखला २–० ले क्लिन स्विप पनि गरेको छ । नेपालले दिएको दुई सय ७९ रनको लक्ष्य पपुवा न्युगिनीले ४८.४ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो । पपुवा न्युगिनीको जितमा लेगा सिएकाले ९० रनको अर्धशतकीय पालि खेले । यस्तै रिले हेकुरेले अविजित ४८ रन जोड्दा सेसे बौउले ३८, चाल्र्स अमिनीले ३५ र चाड सोपरले अविजित १६ रन बनाए । नेपालका सोमपाल कामीले तीन विकेट लिए । यस्तै पवन सर्राफले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक÷एक विकेट हात पारे ।
 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७८ रनको योगफल खडा गरेको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले शतकीय पालि खेले । उनले एक सय ४० बलमा एक सय पाँच रन बनाए । उनी एकदिवसीय क्रिकेटमा शतक बनाउने तेस्रो नेपाली खेलाडी पनि बने । यसअघि रोहितकुमार पौडेल र पूर्व कप्तान पारस खड्काले एकदिवसीय क्रिकेटमा शतक बनाएका छन् । रोहितले पपुवा न्युगिनीविरुद्ध शुक्रबार एक सय २६ रनको कीर्तिमानी शतक बनाएका थिए । उनले पूर्व कप्तान पारसको नाममा रहेको एक सय १५ रनको कीर्तिमान तोडेका थिए ।
खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरमा पाँच रन जोड्दा महत्वपूर्ण दुई विकेट गुमाएको थियो । कुशल भुर्तेल खेलको पहिलो बलमै पेभेलिएन फर्किएका थिए भने अनिल साह व्यक्तिगत एक रनमा आउट भएका थिए । त्यसपछि तेस्रो नम्बरमा क्रिजमा आएका देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि एक सय २९ रनको कीर्तिमानी साझेदारी गरेका थिए । पहिलो अर्धशतक बनाएका देवले ७२ रनको पालि खेले । यस्तै रोहितकुमार पौडेलले ३५, भीम सार्कीले २६ र कप्तान सन्दीप लामिछाने २४ रन बनाए । पपुवा न्युगिनीका अलेई नाओले तीन विकेट लिए । यस्तै नोरमन भानुअले दुई तथा चाड सोपर र चाल्र्स अमिनीले एक÷एक विकेट हात पारे नेपालले अब पपुवा न्युगिनी र मलेसियासँग त्रिकोणात्मक टीट्वेन्टी शृंखला खेल्नेछ ।