क्यानडा ३६ वर्षपछि फिफा विश्वकपमा

मदन बस्नेत

मदन बस्नेत

  • २०७८, चैत १४ सोमबार
क्यानडा ३६ वर्षपछि फिफा विश्वकपमा

क्यानडा : अन्ततः ३६ वर्ष लामो प्रतीक्षापछि क्यानडाले फिफा विश्वकप फुटबल प्रतियोगितामा प्रवेश पाएको छ। फिफा वर्ल्डकप क्वालिफाइङअन्तर्गत टोरन्टोको बीएमओ फिल्डमा आइतबार राति भएको छनोट खेलमा जमैकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गतेपछि कतारमा हुने सन् २०२२ को फिफा विश्वकप फुटबल प्रतियोगितामा क्यानडाले प्रवेश पाएको हो।
गत बिहीबार कोस्टारिकासँगको खेलमा पराजय बेहोरेको क्यानडाका लागि आइतबार रातिको खेल ‘गर या मर’को चुनौतीपूर्ण थियो। घरेलु दर्शकहरुको साथ र समर्थन पाएको क्यानडाले उत्कृष्ट खेल प्रदर्शन गर्दै यो वर्षको अन्तमा कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो।

खेल सुरु भएको १३औं मिनेटमा कायल लरिनले बललाई जाली चुमाएपछि क्यानडाको विश्वकप यात्रा सम्भव देखिएको थियो। पहिलो हाफको अन्ततिर खेलको ४४औं मिनेटमा टाजन बुचाननले क्यानडाका लागि थप एक गोल गरेका थिए। त्यसैगरी जुनियर होइलेटले ८२औं र मारिआप्पाले ८८औं मिनेटमा गोल गरेका थिए।


सन् २०२६ मा हुने विश्वकप प्रतियोगिताका लागि भने क्यानडाले क्वालिफाइङ राउन्डका खेलहरु खेल्नु पर्ने छैन । संवतः विश्वकपमा छनोट हुनेछ किनभने त्यो बेलाका विश्वकप प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा गर्दैछन्। विश्वकप प्रतियोगिताको आयोजक देशहरुले स्वतः विश्वकप खेल्न पाउने छन्।
क्यानडाले सन् १९८६ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार प्रयत्न गरे पनि छनोट चरण पार गर्न भने सकेको थिएन । जितसँगै कोन्काफ क्षेत्रको छनोटमा क्यानडाले १३ खेलमा २८ अंक जोडेको छ ।
क्यानडा शीर्ष स्थानमा रहेको छ । जमैका ८ अंक जोडेर सातौं स्थानमा छ ।