गणेशमान सिंह स्मृति बक्सिङ : आकाश पहिलो 

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत १६ बुधबार
गणेशमान सिंह स्मृति बक्सिङ : आकाश पहिलो 

काठमाडौं : नवलपुरका आकाश राना गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । पोखरामा बुधबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनलमा कास्कीका सरोज गुरुङलाई पराजित गर्दै आकाशले पहिलो स्थान हात पारेका हुन् । यस तौल समूहमा पर्वतका ओमन गुरुङ र तनहुँका अनिश गुरुङले तेस्रो स्थान हात पारे । 
यसैगरी पुरुषकै कास्कीका सौगात कुमालले स्वर्ण जिते । उनले स्याङ्जाका विपिन भण्डारीलाई फाइनलमा हराए । स्याङ्जाका शंकर खनाल र नवलपुरका अनिष तामाङ तेस्रो भए । पुरुष ६३ केजीमा पर्वतका निश्चल गुरुङ पहिलो, कास्कीका सागर परियार दोस्रो र नवलपुरका सुनील पुन एवं बाग्लुङका निर्तिक गाहमगर तेस्रो भए । ६९ केजीमा पर्वतका सुनील विकले स्वर्ण जिते । उनले फाइनलमा कास्कीका कुशल कुमाललाई पराजित गरे । नवलपुरका रामबहादुर गर्बुजा र स्याङ्जाका विवेक नेपाली तेस्रो भए । 
 

७५ केजीमा कास्कीका निशान गुरुङले मन गुरुङलाई पराजित गर्दै स्वर्ण जिते । ८१ केजीमा पर्वतका मनिष बिसी र ९१ केजीमुनिको तौल समूहमा पर्वतका किरण विक पहिलो भए । उनले कास्कीका आयुष थापालाई पाखा लगाए । यसैगरी महिलाको ५१ केजी तौल समूहमा पर्वतकी अस्मिता थापा, ५७ केजीमा पर्वतकै सीमा गुरुङ र ६० केजी तौल समूहमा पर्वतकै जेसिका श्रेष्ठले पहिलो स्थान हात पारे ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोगमा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ । 
प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।