काठमाडौं : नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टीट्वेन्टी शृंखलामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
मलेसियाले दिएको एक सय १५ रनको मध्यम लक्ष्य नेपालले १३.४ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय पालि खेले । उनले ३८ बलमा एक छक्का र सात चौका हिर्काए । आसिफ र दीपेन्द्रसिंह ऐरीले ७० रनको साझेदारी गर्दै नेपाललाई सहज जित दिलाएका थिए । दीपेन्द्रले २१ रन बनाए । यस्तै डेब्यु खेलाडी दीलिप नाथले अविजित १५ र रोहितकुमार पौडेलले १२ रनको योगदान दिए । मलेसियाका पवनदीप सिंहले दुई तथा मोहमद अमिर र सैयद अजिजले एक÷एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रनको योगफल खडा गरेको थियो । खेलको पहिलो बलमै करण केसीले विरनदीप सिंहलाई आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । मलेसियाका जुवैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । यस्तै कप्तान अहमद फैजले २४, मोहमद अमिरले १६ र सैयद अजिजले १४ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले दुई÷दुई विकेट लिए । यस्तै कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले एक÷एक विकेट हात पारे ।
जितसँगै तीन राष्ट्र सम्मिलित शृंखलामा नेपाल फाइनल नजिक पुगेको छ । नेपालले दुई खेलमा ४ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो । पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको मलेसियाले दुई खेलमा दुई अंक जोडेको छ । अहिलेसम्म अंक जोड्न नसकेको पपुवा न्युगिनी पुछारमा छ ।
त्रिकोणात्मक शृंखलामा नेपाल, पपुवा न्युगिनी र मलेसिया सहभागी छ । बिहीबार नेपालले पपुवा न्युगिनीको सामना गर्नेछ । यस्तै शुक्रबार मलेसिया र पपुवा न्युगिनी एवं शनिबार नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह चरणमा पहिलो र दोस्रो स्थान हासिल गर्नेले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल सोमबार हुनेछ ।