घरेलु मैदानमै मच्छिन्द्र स्तब्ध

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत २२ मंगलबार
घरेलु मैदानमै मच्छिन्द्र स्तब्ध

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब एएफसी कप छनोटको पहिलो खेलमै पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मंगलबार भएको खेलमा मच्छिन्द्र श्रीलंकाको ब्लुस्टारसँग २–१ गोलले पराजित भएको हो । हारसँगै मच्छिन्द्र छनोट चरणबाटै बाहिरिएको छ । मच्छिन्द्रलाई घरेलु मैदानमा स्तब्ध बनाउन ब्लुस्टारका मोहमद इशान र सेनल सन्देशले एक/एक गोल गरे । मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले एक गोल फर्काए ।
ब्लुस्टारले तीन मिनेटभित्रै दुई गोल गर्दै जित सुनिश्चित गरेको हो । खेलको २४औं मिनेटमा मोहमद इशानले गोल गर्दै ब्लुस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । मोहमद फसलको फ्रिकिकलाई सदुपयोग गर्दै इशानले गोल गरेका थिए । त्यसपछि २७औं मिनेटमा सेनल सन्देशले गोल गर्दै ब्लुस्टारलाई २–० को अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा कप्तान सुजलले हेडमार्फत गोल गरे पनि मच्छिन्द्रको हार टार्न सकेनन् । सुजलले मनिष डाँगीको पासमा गोल गरेका थिए । 
 

खेलमा पक्कड जमाएको मच्छिन्द्रले लगातार गोलको अवसर बनाए पनि सदुपयोग गर्न सकेन । नवौं मिनेटमा नुर्लान नुभरुजोभको प्रहारले पोस्ट्को दिशा लिन सकेन । १८औं मिनेटमा रञ्जित धिमालको कर्नरमा देवेन्द्र तामाङको हेडर बल बाहिरिएको थियो । ३७औं मिनेटमा देवेन्द्रकै प्रहार ब्लुस्टारका गोलरक्षक लाक्प्रिया फेर्नान्डोले उत्कृष्ट बचाउ गरेका थिए । ६०औं मिनेटमा ओमोलाजा करिमको हेड बलले पनि जाली चुम्न सकेन । ६४औं मिनेटमा विमल घर्तीमगरको प्रहार ब्लुस्टारका गोलरक्षक फेर्नान्डोलेले विफल पारेका थिए । ६८औं मिनेटमा विमल घर्तीमगरको हेडर बलले पनि पोस्ट्को दिशा लिन सकेन । 
घरेलु मैदानमै मच्छिन्द्रलाई स्तब्ध बनाएको ब्लुस्टारले दोस्रो चरणको खेलमा भारतको मोहन बगानको सामना गर्नेछ । उक्त खेल अप्रिल १२ मा हुनेछ ।