काठमाडौं : अमेरिकाको लस भेगासमा आयोजना हुने यूएसए ओपन एन्ड जुनियर इन्टरनेसनल कराते प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट एकेडेमी नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यूएसए ओपन एन्ड जुनियर इन्टरनेसनल कप १३ देखि १७ मार्चसम्म लस भेगासस्थित नाभादामा हुनेछ । प्रतियोगितामा विजय लामाले ६७ केजीमुनि तथा हरिप्रसाद सेढाईंले ७५ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै ८–९ वर्षको उमेर समूहको छात्रमा याङ्तेन लामा र १४–१५ वर्षको उमेर समूहको छात्रामा याङ्जुम लामाले प्रतिस्पर्धा गर्नेछन् ।

टोलीको प्रशिक्षकमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी सुनिल लामा रहेका छन् । अफिसियल रेफ्रीमा जनकसिंह खड्का र अफिसियलमा रोमा गुरुङ रहेका छन् । टोलीलाई लामा एकाउन्टिङका नाम्गेल लामाले प्रायोजन गरेका छन् ।