गणेशमान सिंह बक्सिङ : मीनु क्वार्टरफाइनलमा

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९, वैशाख ७ बुधबार
गणेशमान सिंह बक्सिङ : मीनु क्वार्टरफाइनलमा

काठमाडौं : त्रिभुवन आर्मी क्लबकी मीनु गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । महिला ५१ केजी तौल समूहमा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मीनुले मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरिन् । यही तौल समूहमा एपीएफकी सञ्जुमाया थिङले प्रदेश १ की सुस्मिता श्रेष्ठलाई हराइन् । सञ्जु पनि क्वार्टरफाइनलमा पुगिन् ।
महिला ५७ केजीमा बागमती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशीला थापा तथा प्रदेश १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सञ्जिता चौधरीलाई हराउँदै अन्तिम आठको यात्रा तय गरे ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुष ५२ केजी तौल समूहमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओली तथा एपीएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई हराउँदै अन्तिम आठमा स्थान बनाए ।
 

बसन्तपुर डबलीमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा नेपाल पुलिस क्लबका शम्भु राजवंशीले सुदूरपश्चिमका रामबहादुर थापा तथा एपीएफका पुरन राईले बागमती प्रदेशका मार्सल गुरुङलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाए । पुरुष ६३ केजीमा एपीएफका सोनाम सार्की र लुम्बिनीका अनिल पुन मगरले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । सोनामले सुदूरपश्चिमका वीरेन्द्र रावल तथा अनिलले प्रदेश १ का तोबिन प्रधानको चुनौती पन्छाए । पुरुष ६९ केजीमा एपीएफका विक्रम चौधरीले मधेशका सचिन शाक्य तथा लुम्बिनीका विकास राना मगरले गण्डकीका सुनिल विकलाई निराश पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे । पुरुष ७५ केजीमा क्वार्टरफाइनलमा पुग्न सफल आर्मीका दीपेश लामाले लुम्बिनीका गणेश सुनारमाथि जित निकाले ।
आगामी शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री एवं गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसरमा १३औं सागका स्वर्णधारी मीनुसहित भूपेन्द्र थापामगर र सनिल शाहीलाई नगदसहित सम्मान गरिएको थियो । उनीहरुलाई नेपाल बक्सिङ संघ एवं आयोजक कमिटीका सदस्य ओमनारायण श्रेष्ठले व्यक्तिगत एक/एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेका हुन् ।


कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिता सफलताको शुभकामना दिँदै नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे ।
प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच गरी १२ स्पर्धा समावेश छन् । सातै प्रदेश र तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी १० टिमका एक सय दुई खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए । प्रत्येक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुने दुई खेलाडीले समान सात हजार पाँच सय नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने छ ।