मुम्बई : दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर–२’ ले बक्स अफिसमा लगातार तहल्का मच्चाउँदै आएको छ । बक्स अफिसमा एकपछि अर्को कीर्तिमान बनाउँदै आएको चलचित्रले रिलिज भएको एक सातामै २५० करोडको कमाइ गरेको हो । ‘केजीएफ च्याप्टर–२’ बक्स अफिसमा सबैभन्दा चाँडो २५० करोड कमाउने हिन्दी भर्सनको पहिलो चलचित्र पनि बनेको छ । यस चलचित्रले रिलिजको सातौं दिन बुधबार १६.३५ करोड आम्दानी गरेको थियो । यस चलचित्रले एक साताको अवधिमा २५५.०५ करोड आम्दानी गरिसकेको छ ।
ओपनिङ विकेन्ड कलेक्सनमा ‘केजीएफ–२’ले निर्देशक एसएस राजामौलीको अघिल्लो चलचित्र ‘बाहुबली २’लाई समेत उछिनेको छ । पहिलो सप्ताहन्त ‘केजीएफ च्याप्टर–२’को हिन्दी डब भर्सनले भारतीय बक्स अफिसमा १९३.९९ करोड भारु कमाएको थियो । यसअघि ‘बाहुबली–२’ १२८ करोड भारु कमाउँदै हिन्दी भाषामा सबैभन्दा बढी कमाउने चलचित्र बनेको थियो । ‘केजीएफ च्याप्टर–२’ले ‘२.०’, ‘सञ्जु’, ‘साहो’, ‘टाइगर जिन्दा है’, ‘आरआरआर’ र ‘बाहुबली–१’ को ओपनिङ विकेन्डको कमाइलाई पनि उछिनेको छ । दक्षिण भारतीय सुपर स्टार यशको चलचित्र ‘केजीएफ च्याप्टर–२’ले सबै भर्सनबाट भारतमा ५०० करोडको आँकडा पार गरिसकेको छ ।
यस वर्षकै बहुप्रतिक्षित ‘केजीएफ च्याप्टर–२’ ले पहिलो दिनमै बक्स अफिसमा ८० प्रतिशत बराबरको अकुपेन्सीसहित ओपनिङ गरिरहेको थियो । पहिलो साताको समाप्तिसम्म पनि चलचित्रले राम्रो ब्यापार गरिरहेको छ । ‘केजीएफ च्याप्टर–२’को दबदबाका कारण थलपति विजयको ‘बिस्ट’ले नराम्रोसँग नोक्सानी बेहोर्नु परेको छ । भारतको सबै राज्यमा ‘केजीएफ च्याप्टर–२’को दबदबा रहेका कारण ‘बिस्ट’ छायाँमा परेको हो । ‘बिस्ट’लाई मध्यपूर्वी मुलुक कुवेतमा प्रतिबन्धसमेत लगाइएको थियो । मुस्लिम र पाकिस्तान विरोधी दृश्य समावेश गरिएको भन्दै कुवेत सरकारले प्रतिबन्ध लगाइएको हो । विजयको यो होस्टेज थ्रिलर फिल्ममा पाकिस्तानी आतंकवादको मुद्दालाई उठाइएको कुवेतको सेन्सर बोर्डले जनाएको छ ।