आज पनि मनोनयन दर्ता, उम्मेदवारको नामावली आजै प्रकाशन हुने

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९, वैशाख १२ सोमबार
आज पनि मनोनयन दर्ता, उम्मेदवारको नामावली आजै प्रकाशन हुने

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो ।आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ ।७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र सदस्य पदका लागि मनोनयन हुनेछ ।

मनोनयन दर्ताको काम सकिएपछि आजै साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

साना दल र केही स्वतन्त्र उम्मेदवारहरूले आइतबार नै उम्मेदवारी दर्ता गराएका छन्  । निर्वाचन आयोगका अनुसार आइतबार १०५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  तर, ठूला  दलहरूमा आन्तरिक किचलो र गठबन्धनमा भागबन्डा नमिलेका कारण पहिलो दिन उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् । उम्मेदवारी दर्ताका क्रममा आचारसंहिताको पालनामा आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

पहिलो दिन १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

३० वैशाखको चुनावका लागि मनोनयनको पहिलो दिन बिभिन्न पालिकाका बिभिन्न पदका लागि १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी दर्ताको यो प्रारम्भिक तथ्याङ्क हो । पहिलो दिन भएकाले धेरैजसो स्थानीय तहमा स्वतन्त्र र साना दलले मात्र उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार बिहान १०  बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । पहिलो दिन सोचे अनुसार सहज हुने गरी उम्मेदवारी दर्ता नभएको अनि ठूला दलहरुको उम्मेदवारी दर्ता नभएकाले सोमबार बढी चाप हुने आयोगले अनुमान गरेको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार स्थानीय तहमा धेरै संख्यामा उम्मेदवारी दिने भएकाले भीडभाड नहोस् भन्नका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको थियो ।

निर्वाचन कार्यक्रम अनुसार सोमबार नै उमेद्वारहरुको नामावलीको सूचि प्रकाशित गर्नुपर्ने हुन्छ । मंगलबार दावी विरोधको समय निर्धारण गरिएको छ ।

बुधबार र बिहीबार दावी विरोध उपर जाँचबुझ गर्ने र शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । आयोगका अनुसार १७ गते शनिवार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।