काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत भेटिएकी छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका लुभुमा भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सञ्जु मंगलबार बिहान ५ः३० बजे मृत भेटिएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । ‘हिजो लुभुमा जात्रा थियो । म पनि सञ्जयको घरमा भोजमा आएको थिएँ । सञ्जु पनि यहीँ थिइन् । मैले उनलाई यहीं भेटेको हो’, अध्यक्ष श्रेष्ठले भने, ‘उनी सामान्य अवस्थामा थिइन् । सबैसँग हाँसिखुसी बसेकी थिइन ।’
प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको प्रहरीको अनुमान छ । नेपाल प्रहरीका प्रवक्ता बिष्णुकुमार केसीले घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको देखिएको र अनुसन्धानपछि थप जानकारी आउने बताए ।
१९औं एसियाली खेलकुदको छनोटका लागि सञ्जु काठमाडौं आएकी थिइन् । उनी अन्य १६ खेलाडीसँगै उनी एसियाली खेलकुदको प्रारम्भिक छनोटमा परेकी थिइन् ।
बाँकेको राप्ती सोनरी गाउँपालिकाकी स्थायी बासिन्दा सञ्जुले १३औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् । सागमा नेपाललाई स्वर्ण पदक दिलाउने उनी पहिलो महिला खेलाडी हुन् ।