काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । क्यान्सरका विरामी प्रेमबहादुरको काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । उनी कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बस्दै आएका थिए । प्रेमबहादुर नेपाली कांग्रेस कञ्चनपुरका धरोहर, कंचनपुर–२ का अभिभावकीय व्यक्तित्व, पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष गरेका व्यक्ति थिए।
उनको निधनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले समवेदना दिएका छन् । ‘सम्माननीय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति मेरा मित्र श्री शेरबहादुर देउवाका भाइ श्री प्रेमबहादुर देउवाको निधनको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ । दुःखद यस क्षणमा मृत आत्माको चीर शान्तिको कामना गर्दै समस्त शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु’, पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
प्रेमबहादुरको मंगलबार पशुपति आर्यघाटमा अन्तेष्टि गरिने जनाइएको छ । वुद्ध जयन्तीका अवसरमा लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि आइतबार लुम्बिनी पुगेका प्रधानमन्त्री देउवा भाइको निधन भएपछि आज बिहान काठमाडौं फर्किएका छन् ।