काठमाडौं महानगरको भावी उपमेयरको भाइरल ‘ट्यूटोरियल र्‍याप’

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९, जेठ ५ बिहीबार
काठमाडौं महानगरको भावी उपमेयरको भाइरल ‘ट्यूटोरियल र्‍याप’

काठमाडाैं : काठमाडौंको मेयर दौडमा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह एक र्‍यापर हुन् भन्ने सबैलाई थाहा छ । तर, यतिबेला उपमेयरकी दावेदार सुनिता डंगोलको एउटा ‘र्‍याप’ पनि चर्चामा छ । सुनिताले करिब ३ वर्षअगाडि बनाएको भिडियो उत्खनन गरेर सामाजिक सञ्जालमा भाइरल बनाइएको हो । भिडियोमाथि रमाइला कमेन्टहरु आइरहेका छन् । यद्यपि, धेरैलाई यो भिडियोको वास्तविकता थाहा छैन ।

उनले मनोरञ्जनका लागि बनाएको नभएर भाषा सिकाउन बनाएको ट्यूटोरियल भिडियो थियो । सुनिता पहिल्यैदेखि नेपालभाषाको संरक्षण र प्रवर्द्धनमा सक्रिय छिन् । यस सिलसिलामा धेरै खाले भिडियो कन्टेन्टहरु बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेकी थिइन् । उनी संलग्न रहेको क्यालिजात्रा नामक समूहले रञ्जना लिपि र नेपालभाषाको प्रवर्द्धनमा काम गरेको थियो ।

उनी भन्छिन्, ‘युवा पुस्तालाई कसरी नेवारी भाषा सिकाउन सकिन्छ भनेर हामी लागिपरेका थियौं । उनीहरुलाई आकर्षण गर्न परम्परागत तवरले नहुने सोचेर संगीतको सहारा लिइएको हो । यसरी र्‍याप शैलीमा भिडियो बनाएर हाल्दा निकै राम्रो रेस्पोन्स पनि मिलेको थियो ।’

कोरोनापछिको पहिलो लकडाउनका बेला आफूले लगातार १७ दिनसम्म फेसबुकमा दैनिक दुई घन्टा लाइभ बसेर विभिन्न तरिकाले नेवारी भाषा सिकाएको सुनिताले बताइन् । भाइरल भिडियो पनि त्यही बेलाको हो । सुनिताका अनुसार यो एउटा ‘टंगट्वीस्टर’ र्‍याप हो, जसमा फरक–फरक अर्थ लाग्ने नेपालभाषा शब्दहरु सिकाउन प्रयास गरिएको छ ।

भिडियो अहिले भाइरल बनेकोमा खुसी छिन् सुनिता । यो भिडियो जतिसक्दो धेरै मानिसहरुमा पुग्नुपर्ने उनी बताउँछिन् । उनले भनिन्, ‘मैले जानेर होइन, नजानी नजानी गाउने प्रयास गरेकी थिएँ भाषा सिकाउन । जति धेरै मानिसहरुले हेर्नुहुन्छ, त्यति म खुसी हुन्छु । यसले गर्दा अरुलाई पनि नेपालभाषाप्रति आकर्षण बढ्ने विश्वास छ ।’

भिडियोमा आएका कमेन्टहरु पढेर इन्जोइ गरिरहेकी छन् उनी । हाँस्दै भनिन्, ‘धेरै खालका कमेन्टहरु आइरहेका छन् । मलाई पनि रमाइलो लागिरहेको छ ।’

विदेशी भाषाको बढ्दो अतिक्रमणले नेपालका मातृ भाषाहरु लोप हुन लागेकोमा चिन्तित छिन् सुनिता । ‘हाम्रा मातृभाषाहरु हराउँदै जान थालेका छन्, विदेशी फिल्म र गीतको व्यापकताले गर्दा ससाना बच्चाहरु पनि अहिले हिन्दी र अंग्रेजी बढी बोल्न सजिलो मान्छन्’, उनले भनिन् ।

बच्चाहरुलाई लक्षित गरेर नेपालभाषामा राइम्सहरु पनि उनले बनाएकी छन् । भाइरल र्‍यापको शाब्दिक अर्थ सुनिताको भाइरल र्‍यापमा प्रयोग भएका नेपालभाषी शब्दहरु यस्ता छन्ः

‘लुमु लुमुक्क लासा लान
बिली बिली जायक बियर ताेना च्वम्ह बाउचा
उली उली सङ बिली खना ग्याना
लासालिसें ग्वारा चिना हुँ हुँ ख्वया
बैगलेनिसे लाछितक बिस्यु बिस्यु वन बाउचा’

सुनिताका अनुसार यी कुनै गहन अर्थ बोकेका शब्दहरु होइनन् । उनका अनुसार गीतको भावार्थ यस्तो छ, ‘एकजना केटा मान्छे लुमु (उनीहरुको समूहकै एक साथीको नाम) लाई सम्झेर, कार्पेट ओछ्याएर एउटा कपमा टन्न वियर खाँदै बसिरहेको छ । त्यही बेला एउटा साङ्ला स्याउँस्याउँ गर्दै आउँछ र त्यो केटा मान्छे तर्सेर ओछ्याउनमा डल्लो परेर रुन्छ । फेरि घरको किचेनदेखि बाहिर पेटीसम्म भाग्छ ।’