१९औं एसियाली खेलकुद लक्षित विशेष प्रशिक्षण : पहिलो चरणमा ५१४ खेलाडी

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९, जेठ २५ बुधबार
१९औं एसियाली खेलकुद लक्षित विशेष प्रशिक्षण : पहिलो चरणमा ५१४ खेलाडी

काठमाडौं : चीनको हाङझावमा हुने एसियाली खेलकुदलाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलो चरणको विशेष प्रशिक्षण बुधबारदेखि सुरु गर्ने भएको छ । राखेप सदस्यसचिव टंकलाल घिसिङले मंगलबार विशेष प्रशिक्षणको उद्घाटन गरेका हुन् । विशेष प्रशिक्षणको उद्घाटन गर्दै सदस्यसचिव घिसिङले सम्बन्धित खेलका समन्वयकर्तालाई खेल सामग्री हस्तान्तरण गरेका थिए ।
खेलाडीको क्षमता र कौशल अभिवृद्धिका साथै वैज्ञानिक विधिबाट प्रशिक्षण प्रदान गर्दै नतिजामूलक उपलब्धि हासिल गर्न प्रशिक्षणको सुरुवात गरिएको हो । प्रशिक्षणमा विभिन्न २३ खेलका पाँच सय १४ खेलाडी र ६६ प्रशिक्षक गरी पाँच सय ८० जना समावेश हुने छन् । खेलाडीमध्ये दुई सय ३० पुरुष र दुई सय ८४ महिला छन् ।

 

नेपालले १९औं एसियाली खेलकुदमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल, फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबुलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ खेलमा सहभागिता जनाउने भएको छ ।
राखेपले प्रारम्भिक छनोटमार्फत खेलाडी छनोट गरेको हो । पहिलो चरणको विशेष प्रशिक्षण असार २३ गतेसम्म सञ्चालन हुनेछ । दोस्रो चरणको छनोट असार २४ देखि २७ गतेसम्म हुनेछ । प्रशिक्षणका लागि विज्ञहरु पनि परिचालन गरिने राखेपले जनाएको छ ।
कार्यक्रम सदस्यसचिव घिसिङले राष्ट्रिय टिमलाई बलियो र व्यवस्थित बनाउन विशेष प्रशिक्षणको सुरुवात गरेको बताउँदै ३६५ दिन नै खेलाडीलाई प्रशिक्षणमा सामेल गराउन परिषद्ले तयारी गरिरहेको बताए । विशेष प्रशिक्षणले एसियाली खेलकुद मात्र नभई अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई पनि सहज हुने घिसिङले बताए ।
भारोत्तोलनका मुख्य प्रशिक्षक राम पौडेलले प्रशिक्षणले नियमित रुपमा निरन्तरता पाउनु पर्नेमा जोड दिए । १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता एथलेटिक्सकी सन्तोषी श्रेष्ठले देशलाई केही दिनु पर्छ भन्ने जोस खेलाडीमा भएकाले प्रशिक्षण सुरु भएकोमा खुसी व्यक्त गरिन् ।