काठमाडौँ : कांग्रेसले आन्तरिक विवादबीच इलाम–२ मा डम्बरबहादुर खड्का र बझाङ–१ को प्रदेशसभामा अभिषेकबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले उनीहरूलाई टिकट दिन प्रस्ताव गरे पनि सहमति नजुटेपछि बिहीबार बहुमतबाट उम्मेदवारको निर्णय गरिएको हो । निर्णयमा असहमति जनाउँदै नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासहितको संस्थापन इतरपक्षले संसदीय बोर्डको बैठक बहिष्कार गरेको थियो । उपसभापति गुरुङ र महामन्त्री थापा निर्णय प्रक्रियामा संलग्न नहुने भन्दै बैठकबाट बाहिरिएका थिए । इतरपक्षकै सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार पनि बैठकबाट निस्किएका थिए । अघिल्लो दिनमै देउवासँग असन्तुष्ट बनेका कोइराला बिहीबार भने बैठकमै गएनन् ।
स्थानीय तहमा लोकप्रियताका आधारमा इलाम–२ मा भेषराज आचार्य र बझाङमा जगतप्रसाद जोशी वा सत्यराज भण्डारीमध्ये एक जनालाई उम्मेदवार बनाउन संस्थापन इतरपक्षका नेताहरूको अडान थियो । तर, चार दिनदेखि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेर सभापति देउवाले अन्ततः आफूले भनेका उम्मेदवार नै छनोट गरेका हुन् ।
‘पार्टीका स्थानीय संरचनालाई विश्वास नगर्ने र क्षेत्रको वास्तविक धरातल नबुझीकनै तपाईंले भनेकै नाममा निर्णय गराउने हो भने यो निर्णय प्रक्रियामा सहभागी हुन सकिन्न । चुनावमा असर पर्ने भएकाले लिखित रूपमा फरक मत त लेख्दैनौं तर यो लिखितसरहकै पोजिसन हो,’ थापाले बैठकमा भनेका थिए । कांग्रेसमा उम्मेदवार छनोट गर्ने संसदीय बोर्डमा पदाधिकारी पदेन सदस्य हुन्छन् । आमन्त्रित सदस्य कोइराला अनुपस्थित रहेकाले संस्थापन पक्षका सदस्यहरू मात्रै बसेर निर्णय गरिएको एक पदाधिकारीले बताए ।
बिहान गरिएको निर्णयलाई अपराह्न ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर अनुमोदन गरिएको थियो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले निर्णय सर्वसम्मतिले भएको दाबी गरे । ‘विभिन्न कारणले अनुपस्थित रहनुभएकाले पछि आएर हस्ताक्षर गर्नुभएको छ,’ उनले भने, ‘छलफलका क्रममा धारणा राख्दा फरक–फरक मत भए पनि निर्णय सर्वसम्मतबाट भएको हो । आकांक्षीबीच पनि उम्मेदवार चयन भएपछि एक भएर लाग्ने सहमति भएको छ ।’
संस्थापनपक्षीय केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति देउवाको कार्यशैलीका कारण पार्टीमा विवाद भएको बताए । ‘सभापतिलाई आफूले भनेको नाममा निर्णय गराउनु थियो भने चार/चार दिनसम्म छलफल किन गराउनु ? पहिलो दिनमै निर्णय गराएको भए पनि हामीले फरक विचार राख्थ्यौं तर चुनावलाई हेरेर लिखितमै नराख्ने कुरा थियो,’ केसीले भने । इलाम–२ मा वडा, प्रदेश र प्रतिनिधिसभा दुवै निर्वाचन क्षेत्र हुँदै जिल्लाबाट सिफारिस भएका उम्मेदवारको सूचीमा भेषराज आचार्य एक नम्बरमा, दोस्रोमा केशव थापा र तेस्रोमा मात्रै डम्बरबहादुर खड्काको नाम थियो ।
देउवाले अघिल्लो निर्वाचनमा १ सय १४ मतले मात्रै पराजित भएको र जिल्ला सभापतिकै निर्वाचनमा भेषराज आचार्यलाई पराजित गरेको तर्क अघि सार्दै सुरुदेखि खड्कालाई टिकट दिने मनस्थिति बनाएका थिए । ०७९ मंसिरको चुनावमा माओवादी र एकीकृत समाजवादीको समर्थनमा चुनावमा प्रतिस्पर्धा गरेको र त्यो स्थिति अहिले गठबन्धन भत्किएपछि नभएको भन्दै इतरपक्षले आचार्यलाई टिकट दिनुपर्ने अडान लिएको थियो ।
पार्टीको कुनै पनि गुटमा नभएका महामन्त्री विश्वप्रकाश शर्माले समेत स्थानीय मत र मनस्थिति आचार्यको पक्षमा रहेको बताउँदै आएका थिए । देउवाले फरक विचार समूहको कुरै सुन्न नचाहेपछि इतरपक्षका नेता कोइरालाले मंगलबारको बैठकमै जित र हारको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्ने भन्दै असन्तुष्टि पोखेका थिए । ‘धरातलमा केही भइरहेको छ । कस्तो स्थिति छ । जनमत कता जाँदै छ, त्यता हाम्रो सभापतिलाई कुनै मतलब नै छैन, आफूले भनेको मान्छेलाई टिकट दिन पाए भयो,’ एक पदाधिकारीले भने, ‘मैदानमा नजाँदै पार्टीभित्र विवाद सिर्जना गराउनु राम्रो भएन ।’
बझाङमा संस्थापन पक्षका त्यस क्षेत्रका नेता एनपी साउद, वीरबहादुर बलायरसहितका नेताले अभिषेकबहादुर सिंहको विकल्प दिन सभापति देउवालाई सुझाउँदै आएका थिए । सिंहभन्दा जगत जोशी लोकप्रिय रहेको उनीहरूको तर्क थियो । संस्थापन इतरपक्षले सत्यराज भण्डारीको नाम अघि सारेको थियो । भण्डारीको विकल्पमा इतरपक्षले पनि जगत जोशीकै नाम लिएको थियो । तर, सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका पृथ्वीबहादुर सिंहको गत असार ५ मा निधन भएपछि रिक्त रहेको बझाङमा देउवाले उनकै छोरा अभिषेकलाई अघि बढाउँदा सहानुभूतिको मत पाउन सकिने तर्क अघि सारेका थिए ।