नेपाललाई फ्रेन्डसिप कपको उपाधि

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८०, चैत २५ आइतबार
नेपाललाई फ्रेन्डसिप कपको उपाधि

काठमाडौं : नेपालले त्रिकोणात्मक टीट्वेन्टी फ्रेन्डसिप कपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा गुजरात क्रिकेट संघलाई १८ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
नेपालले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५८ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान उमंग रोहितकुमारले सर्वाधिक ४० रन बनाए ।

उनले २८ बलमा दुई छक्का र दुईको मद्दतमा ४० रन बनाए । यस्तै आर्य देसाइले ३६, रुद्र पटेलले १७, जयमित पटेल र हर्ष देसाइले समान १५ रनको योगदान दिए । नेपालका अभिनाश बोहराले तीन विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिए । यस्तै  दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र कुशल मल्लले एक÷एक विकेट हात पारे । 
 

यसअघि वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७६ रनको योगफल खडा गरेको थियो । नेपालका कप्तान रोहित पौडेलले अर्धशतकीय पालि खेले । उनले ४७ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ७४ रन बनाए । यस्तै आसिफ शेखले ३४, कुशल मल्लले ३१, कुशल भुर्तेलले १९, र सन्दीप जोराले सात रनको योगदान दिए । गुजरातका शेन पटेल, तेजास पटेल, जयमित पटेलले र युवराज सिंहले एक÷एक विकेट लिए ।
नेपालले लिग चरणको चारमध्ये तीन खेल जित्दै फाइनलमा स्थान बनाएको थियो । गुजरातले भने चार खेलमा दुई जित निकाल्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो । 
नेपाली टोली भारतबाट ओमान प्रस्थान गर्नेछ । ओमानमा हुने प्रिमियर कपमा नेपाल समूह ‘ए’मा छ । यो समूहमा मलेसिया, हङकङ, साउदी अरेबिया र कतार छन् । नेपालले अप्रिल १२ मा मलेसिया, १३ मा कतार, अप्रिल १५ मा हङकङ र अप्रिल १७ मा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।