नीमा र दीपकले वल्र्ड गेम्समा प्रतिस्पर्धा गर्ने

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९ जेठ २६ बिहीबार
नीमा र दीपकले वल्र्ड गेम्समा प्रतिस्पर्धा गर्ने

काठमाडौं : नेपाली उसु खेलाडी नीमा घर्तीमगर र दीपक हमालले वल्र्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको ब्रमिङ्घमको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट नीमा र दीपकले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता नीमा र दीपक आयोजकबाटै छनोट भएका हुन् । उनीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र विश्व वरीयताका आधारमा विश्व उसु महासंघ र वल्र्ड गेम्स फेडरेसनले छनोट गरेको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए । ‘वल्र्ड गेम्समा दक्षिण एसियाका नेपाल र भारत मात्रै छनोट भएका छन् । उसुमा भारतले एउटा कोटा पाउँदा नेपालले भने दुई वटा कोटा पाएको छ’, महासचिव लामाले भने, ‘यो हाम्रा लागि गौरवको विषय हो ।’
 

१२औं तथा १३औं सागकी स्वर्ण विजेता नीमाले १४औं तथा १५औं उसु वल्र्ड च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । यसैगरी एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा कांस्य र आईडब्लूयूएफ थाउलो भर्चुअल च्याम्पियनसिप २०२१ मा रजत पदक जितेकी थिइन् । यसैगरी १३औं सागका स्वर्ण विजेता दीपकले १४औं तथा १५औं उसु वल्र्ड च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगितामा सहभागी ५६ देशका खेलाडीमध्ये उनी उत्कृष्ट नौमा परेका थिए । यसैगरी एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा दीपकले पनि कांस्य पदक जितेका थिए । यही नतिजाका आधारमा नीमा र दीपक वल्र्ड गेम्सका लागि छनोट भएको महासचिव लामाले बताए ।
नीमा र दीपक दुवै थाउलोका खेलाडी हुन् । वल्र्ड गेम्समा नीमाले नानकुन नानदाउ अलराउान्डर र दीपकले नानकुन नानगुन अलराउन्डरमा प्रतिस्पर्धा गर्ने छन् । नीमाको समूहमा पाँच र दीपकको समूहमा सात जना खेलाडी परेका छन् । वल्र्ड गेम्सअन्तर्गत उसुमा २४ राष्ट्रका ६१ जनाले प्रतिस्पर्धा गर्दै छन् । वल्र्ड गेम्समा ४२ खेल समावेश गरिएको छ । प्रतियोगितामा एक सयभन्दा बढी राष्ट्रका तीन हजार ६ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

अमेरिकाको अलाबामामा हुने वल्र्ड गेम्समा नेपालका तर्फबाट उसुले सहभागिता जनाउन लागेको छ । नेपालका नीमा घर्तीमगर र दीपक हमाललाई वल्र्ड गेम्सले नै छनोट गरेको हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र विश्व वरीयताका आधारमा उनीहरु छनोट भएका हुन् । यो हाम्रा लागि गौरवको विषय हो । हामी दक्षिण एसियामा भारतसँगै वल्र्ड गेम्समा सहभागिता जनाउँदै छौं । अझ महत्वपूर्ण कुरा भारतले एउटा कोटा पाउँदा नेपालले भने दुई वटा कोटा पाएको छ । हाम्रा खेलाडी वल्र्ड गेम्सका लागि छनोट भएका छन् भन्ने कुरा हामीले करिब तीन महिना अगाडि मात्रै थाहा पाएका हौं । यो कुरा थाहा पाउनेबिक्तिकै खेलाडीको प्रशिक्षण सुरु गरिसकेका छौं । प्रकाशबहादुर लामाले खेलाडीहरुलाई प्रशिक्षण दिइराखेका छन् । लामो तयारीका कारण पनि हाम्रा खेलाडीले उत्कृष्ट नतिजा दिनेमा विश्वस्त छौं । खेलाडीहरुले पनि उक्तिकै मेहनत गरिरहेका छन् ।
वल्र्ड गेम्स एसियन गेम्स सरहकै प्रतियोगिता हो । विश्वका एक सयभन्दा बढी देशका साढे तीन हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । त्यही कारण पनि यो निकै महत्वपूर्ण प्रतियोगिता हो । १४औं र १५औं वल्र्ड उसु च्याम्पियनसिपमा नीमा र दीपक दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए । ५६ राष्ट्रका खेलाडीमध्ये दीपक उत्कृष्ट नौमा पर्न सफल भएका थिए । वल्र्ड गेम्समा नेपालले सहभागिता जनाउन लागेको पहिलो पटक हो । प्रतियोगितामा सहभागी ४२ खेलमध्ये उसुमा नेपाल पनि छनोट हुनु खुसीको कुरा हो । यो अवसरलाई हामी भरपुर सदुपयोग गर्ने छौं ।
भिसालगायतका तयारीमा पनि संघ लागेको छ । कोरोना महामारीका कारण विगत लामो समयदेखि भिसाका लागि गरिएको आवेदनहरुको चाङ लागेको छ । अन्तर्वार्ताका लागि समय पाउनै मुस्किल छ । त्यसका लागि हामीले वल्र्ड उसु फेडरेसन र वल्र्ड गेम्स फेडरेसनसँग पहल गरिरहेका छौं । उहाँहरुले पनि पहल गरिरहनु भएको छ ।