प्रनिश चौथो डान ब्ल्याकबेल्ट

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९ कात्तिक २७ आइतबार
प्रनिश चौथो डान ब्ल्याकबेल्ट

काठमाडौं : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी प्रनिश गुरुङले चौथो डान ब्ल्याकबेल्ट परीक्षा उतीर्ण गरेका छन् । सीतापाइला तेक्वान्दो डोजाङका खेलाडी प्रनिशले नेपाल तेक्वान्दो संघले सञ्चालन गरेको चौथो डान ब्ल्याकबेल्ट परीक्षा उतीर्ण गरेका हुन् । नेपाल तेक्वान्दो संघले नोभेम्बर १३ मा सञ्चालन गरेको परीक्षामा प्रनिशले चौथो डान ब्ल्याकबेल्ट उतीर्ण गरेका हुन् । संघले एकै पटक छैटौं डान, पाँचौं डान र चौथो डानको परीक्षा सञ्चालन गरेको थियो ।

नेपाल तेक्वान्दो संघको टेक्निकल कमिटीका प्रमुख टार्जन सुब्बा र वरिष्ठ प्रशिक्षक कविराज खड्गीले चौथो, पाँचौं र छैटौं डान ब्ल्याकबेल्टको परीक्षा लिएका थिए । परीक्षामा उतीर्ण हुन सफल परीक्षार्थीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, महासचिव दीपराज गुरुङ, केन्द्रीय सदस्य एवं प्रवक्ता साम्राज्यविक्रम पाण्डे र केन्द्रीय सदस्य राम गिरीलगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

२०६३ सालदेखि तेक्वान्दो खेल्न थालेका प्रनिशले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक जित्न सफल भएका छन् । २०६६ सालमा जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गरेका उनले पहिलो सहभागितामै स्वर्ण पदक जितेका थिए । यससँगै सातौं कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिप, डोर टु डोर च्याम्पियनसिप, इचंगुनारायण, स्युचाटार, कोटेश्वरलगायतका डोजाङले आयोजना गरेका प्रतियोगितामा पनि विभिन्न पदक जित्न सफल भए । यसैगरी सन् २०१४ मा हङकङ इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमार्फत पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका प्रनिशले मकाउ ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत र अस्ट्रेलियाको गोल्डकोस्टमा भएको मोटो गोल्डकोस्ट ओपनमा स्वर्ण पदक जितेका छन् ।