कीर्तिपुर : कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन्। नेकपा एमालेका केशरत्न वज्राचार्यलाई साढे चार हजार मत अन्तरले पछि पार्दै राजकुमार विजयी भएका हुन्। उनले ९ हजार ४३ मत पाउँदा वज्राचार्यले ५ हजार ५०७ मत ल्याएका छन्।
राजकुमार नकर्मी कांग्रेसबाट काठमाडौं उपत्यकामा मेयर जित्ने दोस्रो व्यक्ति हुन्। यसअघि दक्षिणकाली नगरपालिकाको प्रमुखमा मोहन बस्नेतले विजयी भएका थिए। नेपाली कांग्रेस काठमाडौं जिल्ला उपसभापतिसमेत रहेका नकर्मी २०७४ सालको निर्वाचनमा भने नेकपा एमालेका रमेश महर्जनसँग पराजित भएका थिए । कीर्तिपुरमा २०७४ सालमा मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेले जितेको थियो।
कीर्तिपुर नगरपालिकाको उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन्। उनले ८ हजार ८६५ मत पाएकी छन्। उनकी निकटम् प्रतिस्पर्धी नेकपा एमालेकी बिन्दु मर्हजनले ७ हजार २०६ मत पाएकी छन्। शाक्य जनता समाजवादी पार्टी (जसपा)की नेत्री हुन्। उनले रूख चिन्हबाट चुनाव लडेकी थिइन्।
कीर्तिपुर नगरपालिकामा कांग्रेसले १० मध्ये ९ वडामा अध्यक्ष जितेको छ। एउटा वडामा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
वडा नम्बर १ मा हिरालाल महर्जन, वडा नम्बर २ मा रुपेश महर्जन,
वडा नम्बर ३ मा सुविन्द्र महर्जन, वडा नम्बर ५ मा राजेन्द्रकुमार महर्जन, वडा नम्बर ६ मा खिरमानसिंह बस्नेत, वडा नम्बर ७ मा दिवाकर अधिकारी, वडा नम्बर ८ मा सानुमैंया महर्जन,
वडा नम्बर ९ मा दिनेश महर्जन र वडा नम्बर १० मा नरेश महर्जन वडा अध्यक्षमा विजयी भएका छन् । ४ नम्बर वडा बाहेक सबै वडामा कांग्रेस प्यानलसहित विजयी भएको हो । यसैगरी वडा नम्बर ४ मा भने स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी विजयी भएका छन् । यस वडामा स्वतन्त्रबाट सदस्यमा
दिनेशचन्द्र दाहाल, सुमित्रा थापा र सलिना परियार विजयी भएका छन् । नेपाली कांग्रेसका अनिल बाँस्कोटाले वडा सदस्यमा जित हात पारेका छन् । उनी यसअघि पनि वडा सदस्य नै थिए ।