
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी भएका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाएका छन् । रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाएका छन् । यस्तै प्रदेशसभा (१) बाट पुकार महर्जन विजयी भए । उनले पनि लगातार दोस्रो पटक चुनाव जितेका हुन् ।
पहिलो पटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई हराएर चर्चा बटुलेका केसीले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि कम्युनिष्ट गठबन्धनलाई पत्तासाफ पारेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं क्षेत्र नम्बर १० बाट विजयी हुँदै प्रधानमन्त्री बनिसकेका प्रचण्डलाई केसीले २०७० मा करिब सात हजार मतले पछि पारेका थिए । केसीले २० हजार मत ल्याउँदा प्रचण्डले १३ हजार हाराहारीमा मात्रै भोट पाएका थिए ।
२०७० मा ‘म्यान अफ दी इलेक्सन’को उपाधि पाएका केसीले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार नेकपा माओवादीका नेता हितमान शाक्यलाई पराजित गरेका थिए । २०७४ को निर्वाचनमा केसीले २४ हजार १९० भोट पाउँदा उनका निकटतम प्रतिस्पर्धी शाक्यले २१ हजार ९०७ मत पाएका थिए ।
विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका केसी २०४६ सालबाट नेपाली कांग्रेसको पूर्णकालीन कार्यकर्ता हुँदै जिल्ला विकास समिति सभापतिसमेत भएर काम गरेका थिए । उनी क्षेत्र नम्बर १० को क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै पार्टीको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् । निरन्तर जनताका माझमा रहेर काम गरेकै कारण उनी काठमाडौं क्षेत्र नम्बर १० का जनतामाझ लोकप्रिय छन् । नेपाली कांग्रेसले लगातार जित्दै आएको यस क्षेत्रको जनमत पनि कांग्रेसकै पक्षमा रहेकाले पहिलेभन्दा यस पटक उनलाई चुनाव जित्न सहज हुने आँकलन गरिए पनि भोट बाँडिँदा उनले पहिले जति मत ल्याउन सकेनन्।