क्यानडाका प्रधानमन्त्री ट्रुडो नेपाली रेस्टुरेन्ट हाक्का खजानामा, राजधानी ओटवामा शाखा खोल्न सुझाव

मदन बस्नेत

मदन बस्नेत

  • २०७९ माघ ०७ शनिबार
क्यानडाका प्रधानमन्त्री ट्रुडो नेपाली रेस्टुरेन्ट हाक्का खजानामा, राजधानी ओटवामा शाखा खोल्न सुझाव

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत मंगलबार विन्डसोरमा नेपालीले सञ्चालन गरेको हाक्का खजाना रेस्टुरेन्टमा पुगेर नेपाली परिकारहरुको स्वाद लिएका छ्न्। करिब दुई घण्टाको बसाइका क्रममा उनले त्यहाँ नेपाली परिकार मःमः र चिल्ली चिकेन खाएका थिए भने क्यानडाको बजारमा नेपालीले पहिलो पटक उत्पादन गरेको ‘उत्सव बियर’ पनि पिएका थिए। 
प्रधानमन्त्री ट्रुडोले समय समयमा आफ्नो व्यक्तिगत समय बिताउन र साना व्यवसायहरूलाई उत्प्रेरित गर्न विभिन्न प्रान्तका स्थानीय स्टोर र रेस्टुरेन्टहरू भ्रमण गर्ने गरेका छ्न्। त्यसै क्रममा यसपटक उनी आफ्नो साथीहरूसँग विन्डसोरको नेपाली हाक्का खजानामा पुगेका हुन्। 
रेस्टुरेन्टका प्रबन्धक भरत केसीले बिना पूर्व जानकारी अप्रत्याशित रुपमा प्रधानमन्त्री ट्रुडोलाई आफ्नो रेस्टुरेन्टमा देख्दा आफू आश्चर्यमा परेको बताएका छन्। केसीका अनुसार प्रधानमन्त्री ट्रुडोले नेपाली परिकारहरु अत्यन्तै स्वादिष्ट भएको र पहिलो पल्ट खाएको मः मः पनि निकै मन पराएको बताएका थिए। 
 

प्रधानमन्त्री ट्रुडोले रेस्टुरेन्टका प्रबन्धक केसीलाई नेपाली मौलिक खानाको मुक्तकण्ठले प्रसंशा गर्दै त्यस्तो रेस्टुरेन्टको शाखा राजधानी ओटवामा पनि खोल्न आग्रह गरेका थिए । रेस्टुरेन्टमा आएका वाकइन ग्राहकहरु आफूसँगैको टेबुलमा प्रधानमन्त्री ट्रुडोलाई देखेर तीन छ्क्क परेका थिए। छुट्टिने बेला प्रधानमन्त्री ट्रुडोले  रेस्टुरेन्टका सबै स्टाफहरुसँग सामूहिक तस्बिर पनि खिचाएका थिए। 
बिन्डसोरको हाक्का खजाना क्यानडामा रेस्टुरेन्ट र घरजग्गाको ब्यबसायमा सफल ब्यवसायी मदन केसी (माइक) र उनको टिमले सञ्चालन गरेको हाक्का खजाना रेस्टुरेन्टमध्येको एक हो। उनको टिमले नेपालीहरुको बाक्लो बसोबास भएको क्यानडाको सबैजसो शहरहरुमा हक्का खजानाको रेस्टुरेन्टहरु सञ्चालनमा ल्याएको छ। 
हालसम्म मिसिसागा, स्कारब्रो, लन्डन अन्टारियो, विन्डसोर, च्याटम र सरिनामा सञ्चालनमा रहेको हक्का खजानाको थप शाखा अन्यत्र पनि बिस्तार गर्ने योजना रहेको बुझिएको छ।
सफल ब्यबसायी मदन केसीले हाक्का खजानाको निकै आत्मीय आतिथ्य, सस्तो, मीठो र गुणस्तरीय खानाले सबैलाई मोहित बनाइरहेको सन्दर्भमा प्रधानमन्त्री ट्रुडोको पछिल्लो भ्रमणले थप उत्साहित बनाएको बताएका छन् ।
उहाँले आफ्नो रेस्टुरेन्टबाट प्रधानमन्त्री ट्रुडोलाई सन्तुष्ट बनाएर पठाउन पाउँदा निकै गर्वको अनुभुती भएको बताउँदै हाक्का खजानाको सम्पूर्ण टिमलाई बिशेष धन्यवाद ज्ञापन पनि गर्नु भएको छ।