कीर्तिपुर कि किपुलि?

वसन्त महर्जन

वसन्त महर्जन

  • २०८० चैत ०६ मंगलबार
कीर्तिपुर कि किपुलि?

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भेगमा रहेको प्राचीन बस्तीलाई अहिले धेरैले ‘कीर्तिपुर’ भनी चिन्दै आए पनि यो संस्कृतभाषी नामले उक्त बस्तीको खास इतिहास उजागर गर्दैन। किनकि इतिहास केलाउँदा यस क्षेत्रमा संस्कृत भाषाले प्रवेश पाउनुभन्दा धेरै अघि नै व्यवस्थित बस्ती र सभ्यताको विकास भइसकेको देखिन्छ।

आधुनिक कीर्तिपुर नगरपालिकाको चार किल्ला अहिले निकै फराकिलो छ। ऐतिहासिक कीर्तिपुर चाहिं नयाँ बजार, खाःसि बजार, देवढोका हुँदै परिक्रमा गरेर पुनः नयाँ बजार नै पुगिने मुख्य बाटोभित्रको डाँडाको बस्ती हो। उपत्यकाका रैथाने नेवार बूढापाकामाझ यो बस्ती ‘किपू’ नामले पनि चिनिन्छ। यसमाथि कीर्तिपुर नाम कसरी हावी भयो त? केशर पुस्तकालयमा रहेको वंशावली र अन्य स्रोतमा यस्तो लेखिएको

पाइन्छ- ‘यिन (राजा शिवदेव) ले कान्तिपुर र ललितपुर दुवै शहरका समीप प्रान्तीय पर्वत भाग नैऋत्य दिशामा कलिगताब्द ३९४२ मा एक देश बनाए। अघि यस ठाउँमा रहेकी गाईले श्रीपशुपतिनाथलाई नित्य आफ्नो दूध चढाउँदा त्यसैका अनुमानले त्यस जग्गामा के रहेछ भनी खन्दा श्री पशुपतिनाथको ज्योतिर्लिङ्ग प्रकट भएकोले यस जग्गाको कीर्ति ठूलो छ भनी जान्ने पण्डितहरूका समेतले कीर्तिपुर भन्ने नाउँ राखे।’ तर, कीर्तिपुरको स्थापना वंशावलीले भने जस्तो राजा शिवदेवद्वारा नै भएको कुरा प्रमाणित गर्ने ऐतिहासिक सामग्री फेला परेका छैनन्। बरु उनको पालाभन्दा पहिले नै बस्ती विकास भइसकेको देखाउने थुप्रै सङ्केत छन्।

वंशावलीमै उल्लेख भए अनुसार बहुह्री नामकी गाईले पशुपतिमा सधैं दूध बहाउने गरेकामा गाईपालकले त्यहाँ के रहेछ भनी खनेर हेरे। त्यहाँबाट तत्काल आगोको ज्वाला निस्केर उनी भस्म भए। पछि उनैका छोरा भुक्तमानलाई यस क्षेत्रको राजा बनाइयो। तत्कालीन समुदायको अस्तित्वका रूपमा ग्वाःपुखू, ग्वाःदिप, ग्वाःचुक आदि अद्यावधि छन्। यस क्षेत्रमा ग्वाः समुदायका व्यक्तिको अभाव हुन नहुने भन्दै त्यस्तो अवस्थामा नजिकैका चित्लाङ, पालुङ वा अन्यत्रबाट ल्याइने परम्परा कायमै छ।

गोपालवंशावलीले चिनाएका गोपालहरू यिनै ग्वाः (ग्वाला) हुन्। ग्वाः समुदायको पर्याय सापू पनि हो।  नेवारमा विभिन्न पेशा अपनाएर जीविका चलाउँदै आएकाहरूमा गाईपालकलाई सापू, मेष (भैंसी) पालकलाई मेय्पू, हाँसपालकलाई हँय्पू आदि नामले सम्बोधन गरिन्छ। यिनैले हाल समग्रमा ज्यापू पहिचान पाएका छन्। तिनै पेशा वा नाम संस्कृतकरण हुने क्रममा गोपाल, महिषपाल आदि भनिएको हो।

कालान्तरमा गोपाल वा सापूलाई महाभारतको प्रसङ्गसँग जोडी उनीहरू कृष्णसँगै द्वारिकाबाट काठमाडौं आएको कथा सिर्जना गरियो। अनि कृष्णकै वंशका रहेको विश्वास गरिएका यादवहरूलाई पनि उपत्यकाका सापू, ग्वाः वा गोपालहरूसँग जोडेर व्याख्या गर्न थालियो। तर, ऐतिहासिक तथा मानवशास्त्रीय दृष्टिमा यी दुई समुदायबीच कुनै सम्बन्ध देखिन्न।

शिवदेव तृतीय (विसं ११५६-११८३) भन्दा अघि नै बस्ती विकास भइसकेको प्रमाण यहाँका प्राचीन मूर्तिहरूलाई मान्न सकिन्छ। बाघभैरव मन्दिर प्राङ्गणस्थित गणेश मन्दिरभित्रका वैष्णवी, कौमारी, माहेश्वरी, वाराहीका मूर्ति इस्वी संवत् तेस्रो शताब्दी र शिवको मूर्ति चौथो शताब्दीका रहेको लैनसिंह बाङ्देलको मत छ। शिवदेवका नाममा नेसं २४० (विसं ११७६) र नेसं २४३ (विसं ११७९) का दुई अभिलेख पाइएबाट उनले यो शहर स्थापना गरेको नभई व्यवस्थितसम्म बनाएको अनुमान हुन्छ। उनको यही कीर्ति सम्झेर ठाउँको नाम नै कीर्तिपुर राखिएको अनुमान गर्ने छूट पनि छ।

लेखक वासुपासाले किपूअघि उक्त ठाउँलाई पद्मकाष्ठगिरि भनिएको उल्लेख गरेका छन्। तर, उति प्रचलनमा नरहेको पद्मकाष्ठगिरि संस्कृत भाषाकै रहेकाले यो पछि राखिएको नाम रहेको स्पष्ट हुन्छ। किपूका सन्दर्भमा उनले एउटा किंवदन्ती पनि उद्धृत गरेका छन्- एकचोटि भिक्षा माग्न आएका जोगीलाई एक स्थानीय बासिन्दाले ‘क्यपू’ अर्थात् मुलाको बीउ दिएपछि जोगीले यहाँको नाम नै त्यही राखिदिएको र अपभ्रंश हुँदै कालान्तरमा किपू बनेको हो। तर, यो तर्कसङ्गत लाग्दैन। किपू आफैंमा मौलिक वा पूूर्ण शब्द होइन, यसको पूर्ण रूप ‘किपुलि’ हो। तर, क्यपू आफैंमा पूर्ण शब्द भएकाले यसको रूप फेर्न जरुरी नै हुन्न। बरु ‘किपुलि’ को बोलीचाली शब्द ‘किपू’ हुन सक्छ।

आजभोलि पनि किपूको रूपावली चलाउँदा तृतीय विभक्तिमा ‘किपुलिं’ (किपूद्वारा/ले/बाट) र सप्तमीमा ‘किपुलिइ’ (किपूमा) प्रयोग भइरहेकै हुन्छ। यो प्रसङ्गलाई अझ प्रस्ट्याउन झ्याल र पसल शब्दलाई उदाहरण लिन सकिन्छ। बोलीचालीको शब्द ‘झ्याः’ मा यी दुई विभक्ति लगाउँदा ‘झ्यालं’ र ‘झ्यालय्’ हुन्छ। ठीक यसै गरी ‘पसः’ को ‘पसलं’ र ‘पसलय्’। यी तिनै शब्दमा विभक्ति क्रमशः किपुली, झ्याल र पसल बाँकी रहन्छन्। शब्दहरूको यस्तो प्रचलन नेपालभाषा (नेवार) को मौलिक विशेषता नै हो।

कीर्तिपुरको सबभन्दा पुरानो नाम ‘गुँदे’ (वनको देश) भन्ने अर्को अनुमान पनि पाइन्छ। यही शब्द आजभोलि जनजिब्रोमा ‘गुने’ का रूपमा यदाकदा पुराना पुस्ताबाट सुनिन्छ।

नेसं ७०७ (विसं १६४३) को पुरन्दरसिंहको पालाको ताम्रपत्रमा ‘श्रीगुंदेस्थानाधिपति श्रीश्रीश्रीभीमसेनभट्टारक’ शब्द उल्लेख भएबाट इतिहासकार धनवज्र वज्राचार्यले पनि पुरानो नाम ‘गुँदे’ नै मानेका छन्। तर, ‘गुँदे’ वा ‘गुने’ ले स्थानीय बाघभैरव इलाकालाई मात्र जनाउने कुरा भुल्नु हुँदैन। उक्त ताम्रपत्रमा ‘श्रीकीर्तिपुर्या’ अर्थात् ‘कीर्तिपुरको गुँदेस्थान’ भनिएको छ।

कतिपयलाई ‘किपुलि’ वा ‘किपू’ नाम कीर्तिपुर शब्दकै स्थानीकरण हो कि भन्ने पनि लाग्ला। तर, कीर्तिपुरको अपभ्रंश किपुलि वा किपू बन्ने आधार देखिँदैन। बरु कुनै बेग्लै अज्ञात शब्द अपभ्रंश भई ‘किपुलि’ वा ‘किपू’ बनेको मान्न सकिएला। अर्थात्, शुरूदेखि नै यसको नाम किपुलि नै थियो। बरु ‘किपुलि’ लाई संस्कृतभाषी रूप दिई कीर्तिपुर बनाइएको सम्भावना अधिक छ।

इतर भाषामा रहेका गाउँठाउँका नामलाई कसरी संस्कृतमा ढालिँदो रहेछ भन्ने कुरा ‘च्वःपू’ नाउँको नेवार बस्तीलाई ‘चोरपुर’ भनिएबाट पनि प्रस्ट हुन्छ। भक्तपुरको दक्षिणी भेगमा रहेको प्राचीन बस्तीको नाम गैरनेवारभाषी सरकारी अधिकृतलाई अप्ठ्यारो लागेर हो वा बुझाइ नै त्यतिमै सीमित भएर हो, ‘चोरपुर’ भनी न्वारन गरिदिएका थिए। पछि चोरपुर भन्दा नराम्रो सुनिएकाले स्थानीय बासिन्दाले चित्रपुर बनाए।

मौलिक भाषामा रहेका नेवार गाउँबस्तीका नाममा यसरी संस्कृत हावी हुँदा त्यसले इतिहासको मौलिक पाटोलाई नै छोपिदिने गरेको छ। कीर्तिपुरकै ‘बादेगां’ नाउँको स्थानविशेषलाई पनि आफूखुशी ‘बाहिरी गाउँ’ भन्न थालिएको पाइन्छ। स्थानीय भाषाका स्थाननामलाई विस्थापन गरी संस्कृत भाषामा राखिएका नामहरूको सूची निकै लामो छ। अब यो पाटोमा पनि अध्ययन/अनुसन्धान सोझिन आवश्यक देखिन्छ।

‘किपुलि’ कै पश्चिमतिर एउटा छिमेकी बस्तीको नाम ‘किपुल्चा’ छ। नेवार भाषामा सानो भन्ने अर्थबोध गर्न शब्दको पछाडि ‘चा’ राख्ने चलन भए अनुसार ‘किपुल्चा’ बस्ती ‘किपुलि’ कै उपनगर वा सम्बद्ध क्षेत्र रहेको अनुमान पनि हुन्छ। यसो हो भने ‘किपुलिचा’ वा ‘किपुल्चा’ चाहिं संस्कृतकरण हुनबाट जोगिएको भन्न सकिन्छ। ‘किपुलि’ र ‘किपू’ को अर्थ चाहिं के त? यसबारे शब्दकोशहरू मौन छन्।

नेपालभाषामा पनि यसको अर्थ ठम्याउन मुश्किल छ। समयक्रममा समाजले शब्दको अर्थ बिर्संदै जाने र अर्कै अर्थ ग्रहण गर्नु अस्वाभाविक होइन। संस्कृतको प्रभाव पर्नुअघिका नेपालभाषाका अरू पनि धेरै शब्द हराइसकेका हुन सक्छन्।

अहिले पनि नेवार बस्तीका अरू थुप्रै स्थाननामको अर्थ खुुल्दैन। देशकै नाम ‘नेपाल’ को मूल र अर्थ समेत स्पष्ट छैन। नेवाः, नेवाल, नेवार, नेपार र नेपाल एउटै शब्दका विविध रूप रहेको अनुमानसम्म गर्न सकिन्छ। अर्थ नखुले पनि यस्ता पुराना नाम र शब्द छोपिइसकेको इतिहास उत्खनन गर्न उपयोगी सावित हुन्छन्।

हिमाल खबर डटकमबाट साभार