ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८० चैत २१ बुधबार
ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प

काठमाडौं : ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु ताइवानको ख्वालिएन शहरबाट १८ किलोमिटर पर रहेको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ।  यो भूकम्प २५ वर्षयताकै ठूलो भएको अधिकारीहरूले  बताएका छन्। उक्त भूकम्पपछि ४ म्याग्निट्यूड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएका अधिकारीहरूले बताएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी नै छ। 

भूकम्पले घर लगायतका भवन भत्किएका छन् । मानिसहरुलाई भग्नावशेषबाट उद्धार गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

भूकम्प गएसँगै ताइवान र आसपासका छिमेकी देशहरूले सुनामीको चेतावनी जारी गरेका छन्। भूकम्पका कारण जापानको दक्षिण-पश्चिमी क्षेत्रमा ३ मिटर उचाइसम्म छाल निम्त्याउन सक्ने अनुमान गरिएको त्यहाँको मौसमसम्बन्धी निकायले जनाएको छ। फिलिपिन्सको भूकम्प मापन निकायले पनि सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ।

चीनको दक्षिण-पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो भने ५ हजार घरहरु भग्नावशेषमा परिणत भएका थिए। 

फिलिपिन्सको भूकम्प मापन निकायले पनि सूनामीको चेतावी जारी गरेको छ । बीबीसीका अनुसार ताइवानमा २५ वर्षपछि यति शक्तिशाली भूकम्प आएको हो । भूकम्पको केन्द्र हुआलियन शहरमा धेरै भवनहरु आंशिक रुपमा ध्वस्त भएका छन् । ती भवनहरु कोल्टे परेको देखिन्छ ।

पहाडी क्षेत्रमा ठूलो पहिरो झरिरहेको भिडियो सार्वजनिक भइरहेकाले त्यता तिर पनि भूकम्पले क्षति पुर्याएको हुनसक्ने अनुमान छ । स्थानीय मिडियाहरुले भत्किएका आवासीय भवन र विद्यालयहरुबाट मानिसहरुलाई उद्धार गरिरहेको भिडियो प्रसारण गरिरहेका छन् । स्थानीय प्रसारक टिभिबिएसले गाडीहरुमा पनि क्षति पुगेको र पसलभित्रका सामानहरु छरपस्ट भएको फोटो भिडियो प्रसारण गरिरहेको छ । मानिसहरु खुला स्थानमा गएर बसेको पनि देखिन्छ ।