स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित होऔं : राष्ट्रपति

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८१ वैशाख ०१ शनिबार
स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित होऔं  : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षमा अघि थाँती राखेका योजनाहरूलाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिहरूमा जुट्न आग्रह गरेका छन्।  नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिंदै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।

'नव वर्षलाई विगतको समीक्षा गर्ने तथा भविष्यमा गरिने कार्यहरूको योजना बनाउने अवसरका रूपमा हामीले स्वागत गर्दै आएका छौं। तसर्थ, नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो। हामीले यस अघि थाँती राखेका योजनाहरूलाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिहरूमा जुट्न म सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई अनुरोध गर्दछु', राष्ट्रपति पौडेलले शुभकामना शन्देशमा भनेका छन्।

देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्नुपर्ने उनले बताए। उनले भने, 'मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ।'

राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह गरेका छन्। विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्ने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।  उनले भने, 'जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु।'

उनले अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न यहाँका आन्तरिक स्रोतहरू मानव संसाधन, उर्वरभूमी, जलसम्पदा, वनजङ्गल र जैविक विविधतालाई सदुपयोग गर्दै विकासको प्रक्रियालाई तीव्र रूपमा अगाडि बढाई दिगो विकासको लक्ष्य हासिल गर्न अग्रसर हुनु सबैको मुख्य दायित्व भएको बताए। उनले विकासविनाको स्वच्छ वातावरण होइन, विकाससहितको विज्ञान र प्रविधिसँगैको स्वच्छ-सफा पृथ्वी बनाउनुपर्ने बताए।