काठमाडौं : बिरलै मात्रामा सेयर कारोबार गर्ने निरन्जन पन्थीले गत बुधबार नेपाल पुनर्बीमा कम्पनीको ३ कित्ता सेयर बिक्री गर्नका लागि कारोबार प्रणाली (टीएमएस)बाट अर्डर पोस्ट गरे । यहीं कम्पनीको सेयर नियमित कारोबारका क्रममा प्रतिकित्ता ६७५ रुपैयाँमा किन्न खोज्नेहरु प्रशस्त थिए । तर उनले ३ कित्ता सेयर ६७० रुपैयाँमा पनि बेच्न पाएनन् । जबकि १० वा सोभन्दा माथिको कित्ता सेयर बिक्री गर्नुपरेमा ६७५ रुपैयाँमै सहजै बेच्न सक्थे ।
त्यसअघि पनि ३ कित्ता सेयर बेच्न प्रयास गरेका उनले बिहीबार भने १७ कित्ता सेयर किने । अब खरिद भएको सेयर डिम्याट खातामा आइसकेपछि उनले २० कित्ता सेयर बेच्नेछन् । ‘अडलट कारोबार गर्न सकिँदैन, त्यसकारण सेयर थपेर १० भन्दा माथि संख्या बनाएर मात्रै एकैपटक बेच्नुपर्छ’ उनले गुनासो गरे ।
अर्का लगानीकर्ता सुवासचन्द्र ढुंगानाले केही महिनाअघि एक कम्पनीको ५ सय कित्ता सेयर बेच्नका लागि अर्डर पोस्ट गरे । तर खरिदकर्ताले ४९१ कित्ता खरिद गरिदिए, ९ कित्ता सेयर रहिरह्यो । उनले त्यो ९ कित्ता सेयर बेच्न नसक्ने भएपछि थप ११ कित्ता किनेर कुल २० कित्ता बनाएर बेच्न खोजे । ‘२० कित्ता बिक्रीका लागि अर्डर राख्दा फेरि १६ कित्ता मात्रै बिक्री भयो, ४ कित्ता रह्यो’ उनले भने ‘फेरि त्यो ४ कित्ता बेच्नका लागि अरु १६ कित्ता किन्नुपर्यो, यस्ता समस्या धेरै पटक भोगिसकेँ ।’
एकल अंकको सेयर संख्या डिम्याट खातामा रहीरहँदा पोर्टफोलियो भद्रगोल देखिने गरेको लगानीकर्ताको गुनासो छ । त्यस्तै एकल अंकको सेयर राख्दा कम्पनीको बोनस सेयरबाट समेत वञ्चित हुनुपर्ने अवस्था रहेको ढुंगाना बताउँछन् । ‘कुनै कम्पनीले १० प्रतिशत बोनस सेयर घोषणा गर्यो र पोर्टफोलियोमा त्यो कम्पनीको ४/५ कित्ता सेयर छ भने कत्ति पनि बोनस सेयर आउँदैन’ उनले भने ‘तर त्यहीं ४/५ कित्ता सेयर बेचेर अरु कम्पनीको १० कित्ता आउन सक्छ ।’
पन्थी र ढुंगानाजस्तै हजारौं कारोबारी/लगानीकर्ताले एकल अंकको सेयर कारोबार गर्न वर्षौंदेखि यस्तै सास्ती भोग्नु परेको छ । यसले गर्दा ब्रोकर कमिसन तथा अन्य शुल्क तेब्बर तिर्नुपर्ने बाध्यता छ । ब्रोकर कमिसन मात्रै होइन, तेहेरो डिम्याट शुल्क, धितोपत्र बोर्डलाई तिर्नुपर्ने शुल्क खर्च भइरहेको छ । तीबाहेक मूल्य उतारचढावबाट पर्ने असरका कारण पनि नोक्सानी खेप्न लगानीकर्ता बाध्य भएका छन् ।
१ देखि ९ कित्तासम्मको कारोबारलाई ‘अडलट’ कारोबार भन्ने गरिन्छ । अहिले अडलट कारोबार गर्नै नपाएको अवस्था छ । नेप्से र सीडीएससीमा पनि यस्ता गुनासा प्रशस्त आउने गरेका छन् । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले अडलट कारोबार गर्न नपाएको भनेर गुनासो आउने गरेको बताए । तर नेप्सेले यसको समस्या समाधानका लागि खास पहल गरेकै छैन ।
‘अडलट मुल कारोबार होइन, यो कारोबारले कुनै पनि सूचक र त्यो कम्पनीको मूल्यलाई पनि असर पार्दैन’ पराजुलीले भने ‘कसैले पनि २–३ कित्ता सेयर किन्नका लागि बाई अर्डर हाल्दैन, त्यसकारण सेलिङ अर्डर हाले पनि बिक्री नभएको हो ।’
अडलट कारोबार गर्ने नै हो भने पनि आफैले कारोबारी खोज्नुपर्ने बाध्यता छ । बिक्री गर्न चाहेको सेयर संख्या र मूल्य सिस्टमबाट म्याच भइसकेपछि मात्रै कारोबार सम्पन्न हुन्छ । उदाहरणको रुपमा, एबी कम्पनीको ५ कित्ता सेयर बिक्री गर्नुपरेमा खरिदकर्ता खोजेर उहीं संख्या र उहीं मूल्य दुवैले टीएमएसमा अर्डर पोस्ट गरेपछि मात्रै कारोबार सम्पन्न हुन्छ ।
अहिले अडलट कारोबार गर्नका लागि कारोबारीले सामाजिक सञ्जालका पेज प्रयोग गरी दोस्रो कारोबारी पक्ष खोज्ने गरेका छन् । आफूले किन्न वा बेच्न चाहेको कम्पनी, सेयर संख्या र मूल्य सामाजिक सञ्जालमा पोस्ट गरी कारोबारका लागि सहमति गर्ने र सो सहमतिअनुसार टीएमएसमा अर्डर पोस्ट गर्ने गरेको पाइन्छ ।
खरिद र बिक्रीकर्ता कारोबारका लागि राजी भइसकेपछि दुवै पक्षले उहीं मूल्य र सेयर संख्या आ–आफ्नो टीएमएसबाट अर्डर पोस्ट गर्छन् र म्याच भई कारोबार सम्पन्न हुन्छ । अडलट कारोबारलाई सहज बनाउनका लागि नेप्सेमा छलफल हुने पराजुलीले बताए । ‘अडलट कारोबार सहज गराउने विकल्पबारे हामी छलफल गर्नेछौं’ पराजुलीले भने।
अडलट कारोबार सहज बनाउन के हुन सक्छ विकल्प ?
बजार खुलेका जुनसुकै दिन अडलट कारोबार गर्न सकिने व्यवस्था छ । १० कित्ताभन्दा बढी सेयर नियमित रुपमै किनबेच हुन्छ । १ देखि ९ कित्ता भने अडलट कारोबारअन्तर्गत पर्दछ । किनबेच गर्ने आफैले अनलाइन प्रणालीबाट कारोबार गर्न सक्ने भएकाले अब अडलट भनेर नछुट्याइकन नियमित जसरी नै १–९ कित्ता कारोबार गर्न सक्ने व्यवस्था बनाउने तर सो कारोबारका कारण मूल्य र सूचकमा असर नपर्नेगरी सिस्टम विकास गर्न सकिने ब्रोकर संचालकहरू बताउँछन् ।
‘नियमित कारोबारजसरी नै १–९ कित्ता पनि अर्डर पोस्ट गरेर कारोबार गराउनुपर्छ, तर ९ कित्ताभन्दा कम वा निश्चित रकमभन्दा कमको कारोबारले मूल्य तथा सूचकमा प्रभाव नपर्ने बनाउन सकिन्छ’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले भने ‘हामीले अडलट कारोबार असहज भएकोबारेमा बारम्बार ध्यानाकर्षण गराएका हौं ।’
हाल सेयर कारोबार गर्दा आफूले अर्डर हालेको संख्या पनि टुक्रिएर किनबेच हुने गरेको छ । यसअघि कारोबार सिस्टममा रहेको अल अर नन (एओएन)लाई हटाइँदा सेयर संख्या टुक्रिने समस्या बढी हुने गरेको छ । ठूला लगानीकर्ताले चलखेल गरेको भन्दै धितोपत्र बोर्डको निर्देशनमा यो व्यवस्था हटाइएको थियो । एओएन हुँदा जति कित्ता खरिदबिक्रीका लागि अर्डर राखिएको छ, त्यो संख्या म्याच भएपछि मात्रै कारोबार हुन्थ्यो । तर अहिले प्रतिकित्ता मूल्य म्याच भएपछि स्वतः कारोबार हुने गरेको छ ।
उदाहरणका रुपमा, कसैले १२ कित्ता सेयर बेच्नका लागि ‘एओएन’ विकल्प छनोट गरेर अर्डर राखेको अवस्थामा मूल्य म्याचसँगै १२ कित्ता वा सोभन्दा बढी खरिद गर्नेले मात्रै पाउँथ्यो, १० कित्ता खरिद गर्न चाहनेले पाउँदैनथ्यो । यसले २ कित्ता खातामै रहने समस्या हुँदैनथ्यो । तर अहिलेको व्यवस्थामा मूल्य म्याच भएमा १० कित्ता पनि खरिद हुन्छ, तर बिक्रेताको खातामा २ कित्ता रहिरहन्छ । अब २ कित्ता सेयर कहिलै बिक्री हुँदैन, थप सेयर खरिद गरेर (१० भन्दा माथि संख्या) मात्रै बेच्न सकिन्छ । तर अर्को चरणमा पनि त्यस्तै अवस्था दोहोरिन, तेहरिने समस्या छ । ‘निश्चित सेयर संख्या वा निश्चित रकमसम्मलाई एओएन अनुमति दिँदा सेयर संख्या टुक्राएर बेच्नु पर्दैन’ सापकोटाले भने ।
अर्कोतर्फ अहिले १–९ कित्ता सेयर खरिदबिक्रीका लागि अर्डर हाल्दा अरुले हेर्न सक्दैनन् । जसले गर्दा पनि अडलट कारोबार जटिल बनेको छ । अडलट कारोबारको मार्केट डेप्थ सबैले हेर्न पाउने व्यवस्था गर्ने हो भने त्यहीं मार्केट डेप्थ हेरेर किन्न र बेच्न चाहनेले सहजै खरिद बिक्री गर्न सक्नेछन् ।
अहिले सेयर, म्युचुअल फण्ड वा ऋणपत्रको छुट्टाछुट्टै रुपमा मार्केट डेप्थ हेर्न मिल्छ, त्यसैगरी सेयरको अडलटको पनि छुट्टै मार्केट डेप्थ हेरेर कारोबार गर्न सक्ने व्यवस्था गरेमा यो समस्या समाधान हुन सक्ने लगानीकर्ता बताउँन् ।
८/९ कित्ता सेयर हुनेले १/२ कित्ता खरिद गरेर १० कित्ता बनाउन सक्छन् भने १/२ कित्ता हुनेले बेचेर पोर्टफोलियो व्यवस्थित गर्न सक्छन् । त्यस्तै अर्को विकल्प स्टक डिलरले त्यस्ता सेयर खरिद गर्न सक्ने व्यवस्था पनि गर्न सकिन्छ । हाल दुई वटा स्टक डिलर सञ्चालनमा छन् ।