
काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा फेरि ताला लगाएपछि नेकपा (क्रान्तिकारी)ले विरोध जनाएको छ । नेविसंघले १३२ दिनदेखि त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यालयमा लगाएको ताला नेकपा (क्रान्तिकारी)ले जेठ १८ गते तोडेको थियो । तर, नेविसंघले जेठ १९ गते फेरि तालाबन्दी गरेपछि नेकपा(क्रान्तिकारी)ले अब सह्यै नहुने चेतावनी दिएको हो ।
“महिनौदेखि बन्द भएर शिथिल भई थला परिसकेको विश्वविद्यालय खोलिनुपर्छ, विद्यार्थी निर्धक्क पठनपाठन गर्न पाउनुपर्छ विश्वविद्यालयले कामकाज सहज बनाउन पाउनपर्छ भन्ने बुझाइ हो । खुलेको विश्वविद्यालय फेरि ताला लगाइनु कस्तो स्वार्थ र विवेकपूर्ण निर्णय होला ?,” नेकपा (क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
क्रान्तिकारीले तालबन्दी जारी रहे जुनसुकै अप्ठ्यारो अवस्थाको सामना गर्न सरकार तयार हुनुपर्ने चेतावनीसमेत दिएको छ । “पार्टीले खोलेको ताला फेरि अटेर गरी लगाइएकाले तत्काल विश्वविद्यालय र सम्बन्धि पक्ष बसी समस्याको हल गरी ताला नखोलिए निर्मम भएर पार्टी अगाडि बढ्छ,’ नेकपा(क्रान्तिकारी)ले चेतावनी दिँदै भनेको छ ।
नेकपा (क्रान्तिकारी)ले विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले महिनौँदेखि तालाबन्दी हुँदा पनि चासो नदेखाएको भन्दै आपत्ति पनि जनाएको छ ।
यस्तै आंशिक शिक्षकले पनि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा आफूहरुलाई दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा राख्नुपर्ने माग गर्दै माघ २० गतेदेखि ताला लगाएका थिए। नेविसंघ र आंशिक शिक्षकले लगाएको ताला यही जेठ १८ गते नेकपा (क्रान्तिकारी)ले फोडे पनि फेरि उनीहरुले हिजो संयुक्तरुपमा ताला लगाएका छन्। नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले त्रिविले आफूसँग गरिएको सम्झौता कार्यान्वयन नगरेकाले ताला लगाएको बताए।