
काठमाडौं : तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनका क्रममा निजी सम्पत्तिमाथि भएको क्षतिको जिम्मेवारी आयोजक लिनुपर्ने सरकारले जानकारी दिएको छ। गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्दै शुक्रबार प्रदर्शनका क्रममा भएको नोक्सानीको जिम्मेवारी आयोजकका तर्फबाट प्रसाईंले लिनुपर्ने बताएको हो। 'व्यक्तिको निजी सम्पत्तिमाथि तोडफोड गर्ने, सञ्चार गृहमा आगजनी गर्ने, अस्पतालमा तोडफोड गर्ने, व्यापारिक केन्द्रमा तोडफोड गर्नेलगायत आपराधिक घटना भएका छन्। आपराधिक कार्यमा संलग्न सबैलाई पक्राउ गर्छौं। रेकर्डको आधारमा, इन्टेलिजेन्सको सूचनाको आधारमा सबैलाई कारबाहीको दायरमा ल्याउँछौं,' गृह मन्त्रालयका सहसचिव छवि रिजालले भने।
दुर्गा प्रसाईंले गाडी चलाएर प्रहरीलाई मार्न खोजेको आरोपसमेत सरकारले लगाएको छ। 'दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई मार्ने नियतले गाडी चलाउनुभयो। त्यसपछि त्यस तीनकुने क्षेत्र उग्र बनेको देखिन्छ,' रिजालले भने।