टिकटकबाट थालिएको अभियानले नौ नेपाली चेलीको उद्धार

मदन बस्नेत

मदन बस्नेत

  • २०७९, चैत ११ शनिबार
टिकटकबाट थालिएको अभियानले नौ नेपाली चेलीको उद्धार

काठमाडौं : सामाजिक सञ्जाल टिकटकमा सामाजिक जागरणको अभियान चलाउँदै आएकी युवा अभियानकर्मी कृतु भण्डारी र उनलाई साथ र समर्थन गर्ने सामाजिक अभियन्ताहरुको सक्रियतामा रोजगारीको शिलसिलामा बेलारुस पुगेर अलपत्र परेका नौ नेपाली चेलीलाई सकुसल उद्धर गरिएको छ।
टिकटकमा खाडी मुलुकमा कामका लागि गएका नेपाली कामदारहरुको समस्या विषयक अन्तरक्रिया कार्यक्रममा जोडिएका  चेलीहरुले नून र पानी मात्र खाएर नारकीय जीवन बिताउन परेको र बिनापारिश्रमिक दैनिक घण्टौं काम गर्नुपर्ने बन्धक जीवन बिताउन बाध्य भएको कारुणिक अवस्थाको जानकारी दिएपछि कृतु भण्डारीको टिकटक फोरमले लगातार रुपमा उनीहरुको उद्धारको अभियानलाई जारी राख्यो र जनस्तरमा आर्थिक सहयोगको आव्हान पनि गरेको थियो ।
 

नेपाल सरकार र सम्बन्धित राष्ट्र बेलारुस हेर्ने राजदुतसँगको निरन्तरको सम्पर्क र टिकटकका माध्यमबाट उद्धार अभियानमा जुटेकी कृतु र उनको टिम अन्ततः बेलारुसमा अलपत्र ती नौ नेपाली चेलीहरुलाई उद्धार गरेर नेपाल ल्याउन सफल भएको छ। 
त्यसरी स्वदेश फर्केका नेपाली महिलाहरूमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती तिलुङ, रमिता राई ,सुष्मा तामाङ, मीना गुरुङ र माथा सोताङ राई छन्।  
उनीहरुलाई उद्धार गरेर नेपाल ल्याउने अभियानको नेतृत्व गरेकी कृतु भण्डारीले सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरु कुनै पनि प्रकारको ठगी वा मानव बेचविखनको आपराधिक जालोमा नपर्ने गरी सबै प्रकारका कानूनी व्यवस्था र आधुनिक प्रणालीहरुको व्यवस्था गर्नु पर्ने बताएकी छन् ।
उनले उद्धारको सफलतापछि अब त्यसरी नेपाली चेलीहरुलाई गलत कागजात बनाई बेलारुसमा अलपत्र पार्ने हरुको खोजी गरी कानूनी काबाही गर्ने अभियानमा जुट्ने बताएकी छन्। 
बेलारुसबाट उद्धार गरी स्वदेश आइपुगेका चेलीहरुले  पत्रकार सम्मलेन गरी उनीहरुलाई नेपाल ल्याउन सहयोग गर्ने कृतु भण्डारी नेतृत्वको सामाजिक अभियान्ताहरुको टिमलाई धन्यवाद दिएका छन्। उद्धार अभियानको नेतृत्व गरिरहेकी सामाजिक अभियन्ता कृतु भण्डारीले पनि उद्धारको महान कार्यमा आर्थिक र नैतिक रुपले साथ र समर्थन दिने ह्रुदयका धनी सबै नेपालीहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गरेकी छन्।
कृतु भण्डारीको यो अभियान र सफलताले टिकटकबाट मनोरञ्जन मात्र लिन सकिने होइन, रचनात्मक र सामाजिक अभियानमा पनि जोडिन सकिन्छ भन्ने तथ्यलाई पनि पुष्टि गरेको छ।