तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक विकेश र अस्मिता सम्मानित

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८२, असार १४ शनिबार
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक विकेश र अस्मिता सम्मानित

काठमाडौं : तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक विकेश बिडारी र अस्मिता खड्का सम्मानित भएका छन् । गोठाटार तेक्वान्दो डोजाङले आफ्नो नवौं वािर्षकोत्सवका अवसरमा शनिबार आयोजित विशेष कार्यक्रममा अन्तर्राष्ट्रिय निर्णायक विकेश र अस्मितालाई सम्मान गरेको हो ।

उनीहरुलाई कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष अनिल थापा, बाह्रबीसे नगरपालिका वडा नम्बर ३ का अध्यक्ष जीवनकुमार भण्डारी, नेपाल तेक्वान्दो संघका प्राविधिक सल्लाहकार टार्जन सुब्बा र गोठाटार तेक्वान्दो डोजाङ प्रमुख प्रेम भण्डारीले सम्मान गरेका थिए ।

विकेशले सन् २०२३ जुलाई ७ देखि १० तारिखसम्म थाइल्यान्डको बैंककमा भएको अन्तर्राष्ट्रिय रेफ्री कोर्स उतीर्ण गरेका थिए । उनले ग्योरोगी र पारा तेक्वान्दोको लेभल वान प्रशिक्षण कोर्स पनि उतीर्ण गरेका छन् । विकेशले अल्टिमेट डोजाङमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएका छन् । तेक्वान्दोकी पाँचौं डान ब्ल्याकबेल्ट अस्मिता ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय निर्णायक हुन् । उनले सन् २०२४ जुनमा मलेसियामा सञ्चालन भएको अन्तर्राष्ट्रिय रेफ्री कोर्स उत्तीर्ण गरेकी थिइन् । यस्तै गत जनवरी १७ देखि २० तारिखमा भारतको पुनेमा सञ्चालन गरेको अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्स पनि उत्तीर्ण गरेकी छन् । विभागीय टोली एपीएफ क्लबमा आवद्ध अस्मिता १३औं दक्षिण एसियाली खेलकुदकी कांस्य पदक विजेता खेलाडी पनि हुन् ।

वार्षिकोत्सवका अवसरमा गोठाटार तेक्वान्दो डोजाङले २०८१ का उत्कृष्ट खेलाडीका रुपमा नेरिया श्रेष्ठलाई नगदसहित सम्मान गरेको थियो । उनलाई डोजाङ प्रमुख भण्डारीले नगदसहित सम्मान गरेका थिए । यस्तै सिनियर खेलाडी सरिता तामाङ, कुमार तामाङ, माधव विश्वकर्मा र सुजाता पराजुलीलाई प्रसंशापत्रबाट सम्मान गरिएको थियो ।
सोही अवसरमा जापानको ओसाका सहरमा गत अप्रिल २५ देखि २७ तारिखसम्म २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता हृदयणी बस्नेतलाई पनि सम्मान गरिएको थियो । २०७४ सालमा स्थापना भएको डोजाङले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ ।