वरिष्ठ खेलकुद थापा सम्मानित

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८२, माघ २५ शनिबार
वरिष्ठ खेलकुद थापा सम्मानित

काठमाडौं : वरिष्ठ खेलकुद पत्रकार विष्णु थापा सम्मानित भएका छन् । गोकर्णेश्वर नगरपालिका–४, उत्तरबाहिनीमा रहेको शुभकामना स्कुलले जुनियर तेक्वान्दो ग्रेडिङ तथा बेल्ट प्रमोसन कार्यक्रमका अवसरमा थापालाई सम्मान गरेको हो । पत्रकारितामार्फत खेलकुद क्षेत्रको विकास र विस्तारमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै थापालाई सम्मान गरिएको हो । थापालाई शुभकामना स्कुलका अध्यक्ष प्रकाश अधिकारी, विद्यालयकी प्रिन्सिपल सुमित्रा धिमाल र गोकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामाले सम्मान गरेका थिए ।
थापा विगत दुई दशकभन्दा बढी समयदेखि खेलकुद पत्रकारितामा सक्रिय छन् । उनी विगत एक दशकदेखि अन्नपूर्ण पोस्ट्मा वरिष्ठ सम्वाददाताका रुपमा कार्यरत छन् । उनको ‘खेलाडी ः संघर्षदेखि सफलतासम्म’ पुस्तक केही समयअघि मात्रै प्रकाशित भएको थियो । नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको संघर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको छ । पुस्तकमा नेपाललाई पहिलो पदक दिलाउन सफल एउटा सिंगो इतिहासका साक्षी जितबहादुर केसीदेखि पेरिस पारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेसा गोवद्र्धनसम्मको संघर्ष, सफलता र उतारचढावको विषयबस्तुलाई समेटिएको छ ।

सोही कार्यक्रममा नेपाल तेक्वान्दो संघका नवनिर्वाचित महासचिव हेमन्त डाँगी, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङ, संघका केन्द्रीय सदस्य एवं अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी र नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य प्रेम भण्डारीलाई पनि सम्मान गरिएको थियो । 
कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष अधिकारीले विद्यालयको उद्देश्य किताबी ज्ञान मात्र नभई विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा पनि सबल बनाउनु रहेको बताए । नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले पछिल्लो समय तेक्वान्दोले राष्ट्रिय स्तरमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्दै आएको बताउँदै तेक्वान्दोले आत्मरक्षासँगै आत्मसंयम पनि सिकाउने बताएका थिए । कार्यक्रममा करिब पाँच दर्जन खेलाडी ग्रेडिङमा सहभागी भएको प्रशिक्षक न्हवाङकेसाङ लामा जानकारी दिए । खेलाडीको ग्रेडिङ अन्तर्राष्ट्रिय निर्णायक एवं दोलखा जिल्ला तेक्वान्दो संघका सचिव नोर्बु मोक्तानले लिएका थिए ।