पपुवा न्युजिनीसँग नेपाल स्तब्ध

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८ चैत ११ शुक्रबार
पपुवा न्युजिनीसँग नेपाल स्तब्ध

काठमाडौं : पपुवा न्युजिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रोमाञ्चक बनेको खेलमा नेपाल पपुवा न्युजिनीसँग ६ रनले पराजित भएको हो । अन्तिम ओभरमा जितका लागि १० रन बाँकी रहेको अवस्थामा सोमपाल कामी र कमलसिंह ऐरीले तीन रन मात्रै बनाउन सके । नोरमन भानुअले अन्तिम ओभरमा कसिलो बलिङ गरेपछि नेपाल हार बेहोर्न बाध्य बनेको हो ।
दुई सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८६ रन मात्रै बनाउन सक्यो । एकदिवसीय क्रिकेटमा नेपालको अहिलेसम्मकै उच्च योगफल हो । यसअघि सन् २०१९ मा संयुक्त अरब इमिरेट्सविरुद्ध दुई सय ५५ रन बनाएको थियो । पपुवा न्युगिनीविरुद्ध नेपालको यो पहिलो हार पनि हो । पपुवा न्युगिनीविरुद्धको यसअघिका पाँच वटै खेलमा नेपालले जित निकालेको थियो ।
 

रोहितकुमार पौडेलले एक सय २६ रनको कीर्तिमानी शतकीय पालि खेले पनि नेपालले जित निकाल्न सकेन । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको पहिलो शतक हो । उनी एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी पनि बने । उनले पूर्व कप्तान पारस खड्काको नाममा रहेको एक सय १५ रनको कीर्तिमान तोडेका हुन् । उनले एक सय सात बलमा चार छक्का र सात चौका हिर्काए । पाँचौं विकेटका लागि रोहित र आरिफ शेखले कीर्तिमानी एक सय चार रनको साझेदारी गरेका थिए । आरिफले ३४ रन बनाए । यस्तै कुशल भुर्तेलले ३२, सोमपाल कामीले १८, भीम सार्कीले १७ र कमलसिंह ऐरीले १८ बनाए । पपुवा न्युगिनीका नोरमन भानुअले तीन विकेट लिए । यस्तै चाल्र्स अमिनी र असद भालाले दुई÷दुई विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा आठ विकेट दुई सय ९२ रनको विशाल योगफल खडा गरेको थियो । नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक योगफल हो ।
पपुवा न्युगिनीका दुई खेलाडीले अर्धशतक पूरा गरेका थिए । चाल्र्स अमिनीले सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान असद भालाले ६० रनको योगदान दिए । यसैगरी नोरमान भानुअले ४७, टोनी उराले ३८, रिले हेकुरेले ३१ र जासन किलाले १३ रनमा बनाए । नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई÷दुई विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने र आरिफ शेखले एक÷एक विकेट हात पारे ।
नेपाल र पपुवा न्युगिनीविरुद्धको दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ । त्यसपछि त्रिवि मैदानमै सोमबारदेखि पपुवा न्युगिनी र मलेसियासँग त्रिकोणात्मक टीट्वेन्टी शृंखला खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान) एकदिवसीय र टीट्वेन्टी शृंखलाका लागि छुट्टाछुट्टै टोली घोषणा गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको टीट्वेन्टी टोलीमा आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र अदिल अन्सारी छन् ।