गणेशमान सिंह स्मृति बक्सिङ : रोहित र मार्सल छनोट

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८ चैत १९ शनिबार
गणेशमान सिंह स्मृति बक्सिङ : रोहित र मार्सल छनोट

काठमाडौं : धादिङका रोहित महर्जन र काठमाडौंका मार्सल गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । भक्तपुरको सानोठिमीमा शनिबार भएको पुरुष ५२ केजी तौल समूहमा रोहित र ५७ केजीमा मार्सलले पहिलो स्थान हात पारेका हुन् ।
पुरुष ५२ केजीमा रोहितले फाइनलमा अभिषेक तामाङलाई पराजित गरे । मार्सलले रामेछापका करण लोहारलाई पाखा लगाए । पुरुषकै ६३ केजी तौल समूहमा रामेछापका मौसम राना काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए । उनले फाइनलमा धादिङका सुरेश भण्डारीलाई पराजित गरे । 
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ६९ केजीमा भक्तपुरका विरिस खनालले काठमाडौंका विवेक भट्टराईलाई पराजित गर्दै पहिलो स्थान हात पारे । यस्तै ७५ केजी तौल समूहमा मकवानपुरका निश्चल विष्ट पहिलो भए । उनले काठमाडौंका अतुल्य भण्डारीलाई पराजित गरे । पुरुषकै ९१ केजी तौल समूहमा धादिङका उमंग गुरुङले काठमाडौंका शिशिर थिङलाई हराउँदै पहिलो स्थान हात पारे ।   

 

महिलातर्फ ५१ केजीमा भक्तपुरकी अस्मिता दुवाल, ५७ केजीमा रामेछापकी स्वस्तिका तिरुवा, ६० केजीमा धादिङकी शशिकला राई राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । 
प्रतियोगिताका विजयी खेलाडीलाई पूर्व युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, गणेशमान सिंह फाउन्डेसनका सदस्य प्रभाशमान सिंह, वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठ, बागमती प्रदेश छनोट प्रतियोगिताका संयोजक अष्ट कवेलगायतले पुरस्कार प्रदान गरेका थिए ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा प्रतियोगिता हुनेछ । हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ । 
प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।