
ललितपुर : ललितपुरको इमाडोलमा रहेको स्वस्तिक तेक्वान्दो डोजाङले प्रथम आमन्त्रित जुनियर पुम्से तेक्वान्दो च्याम्पियनसिपमा १० स्वर्ण जितेको छ । ललितपुरकै चुनीदेवी तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा स्वस्तिकले १० स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको हो ।
प्रतियोगितामा अनामिका प्रसाईं, अमन तामाङ, आयुष मेते, विनम्र लिम्बू, अनिश थापा, सुगम थापा, आयुष तामाङ, अनिश तामाङ, वर्षात कँडेल, सौगात तामाङले स्वर्ण पदक जितेका थिए । यस्तै जोसेफ सापकोटाले रजत र राजन रसाइलीले कांस्य पदक हात पारेका थिए । स्वस्तिक तेक्वान्दो डोजाङबाट सहभागी सबै खेलाडीले पदक जितेका थिए । प्रतियोगितामा ललितपुर, काठमाडौं र चितवनका २२ डोजाङका ३३० खेलाडीको सहभागिता रहेको थियो ।
डोजाङ सञ्चालन भएको छोटो समयमा नै स्वस्तिकले उत्कृष्ट नतिजा ल्याइरहेको छ । डोजाङले विभिन्न प्रतियोगिताहरुमा लगातार पदक जित्दै आएको प्रमुख प्रशिक्षक प्रेमकुमार दर्नालले जानकारी दिए । नगरपालिका, वडा कार्यालय र स्थानीयको साथ र सहयोग पाएमा स्थापनाको छोटो समयमा नै उत्कृष्ट खेलाडी तयार पारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न सक्षम रहेको प्रमुख प्रशिक्षक दर्नालले बताए । दर्नाललाई सहायक प्रशिक्षकका रुपमा रमन थापाले सहयोग गर्दै आएका छन् ।
दर्नालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जित्दै आएका छन् । केही समयअघि पोखरामा भएको तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उनले एक स्वर्ण र एक रजत पदक जितेका थिए ।