एपीएफका सुरजलाई प्रज्ञा साइक्लिङ म्याराथन

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९, चैत १८ शनिबार
एपीएफका सुरजलाई प्रज्ञा साइक्लिङ म्याराथन

चितवन  ः  दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथनको उपाधि एपीएफका सुरज राना मगरले जितेका छन् । पुरुष इलाइटतर्फको निर्धारित ६५ किमि दूरी १ घण्टा ५४ मिनेट ३८ सेकेन्डमा पार गर्दैे उनले उपाधि जितेका हुन् । ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले साइक्लिङ म्याराथनको आयोजना गर्दै आएको छ । उनी अघिल्लो संस्करणका समेत विजेता हुन् । उनले नगद ५० हजार रुपैयाँ पुरस्कार पाए । त्रिभुवन आर्मी क्लबका सुरेश भुजेलले १ घण्टा ५४ मिनेट ३८ सेकेन्डका साथ दोस्रो स्थान हासिल गर्दै ४० हजार रुपैयाँ पुरस्कार जिते । पुरुषतर्फ तेस्रो स्थानमा अमेरिकी नागरिक क्लेभ हब ब्यान्डले नगद ३० हजार रुपैयाँ पाए ।
महिला इलाइटतर्फ काठमाडौंकी लक्ष्मी मगरले १ घण्टा ५७ मिनेट १७ सकेन्डमा सो दूरी पार गर्दै पहिलो स्थान हात पारिन् । उनी १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता हुन् । प्युठानकी हुमी बुढा मगरले २ घण्टा ११ मिनेट ४५ सेकेन्डका साथ दोस्रो र २ घण्टा २८ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै इन्द्रकुमारी तामाङ तेस्रो भइन् ।
 

पुरुष मास्टरमा हर्क लामा पहिलो, विकास महर्जन दोस्रो र देवबहादुर बोहरा तेस्रो भए । यसैगरी पुरुष जुनियरतर्फ मोरङका किरण लिम्बूले स्वर्ण, ललितपुरका अश्विन खत्रीले रजत र नवलपुरका सचिन सहनीले कांस्य पदक जिते । महिला जुनियरतर्फ सुनसरीकी विदिशा चौधरी पहिलो, बाँकेकी साया थापा दोस्रो र चितवनकी नीति गुरुङं तेस्रो भए । चितवन विशेष पुरुषतर्फ प्रनित थापा, रोनिश कर्मचार्य र सन्दीप श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । महिलातर्फ मेरिना रानामगर पहिलो, जुना श्रेष्ठ दोस्रो र नीति गुरुङ तेस्रो भए । प्रतियोगितामा ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 
विजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कार प्रदान गरेका थिए ।