तेक्वान्दो खेलाडीको बिदाइ

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८० जेठ १० बुधबार
तेक्वान्दो खेलाडीको बिदाइ

काठमाडौं : यही जेठ १५ देखि २१ गतेसम्म अजरबैजानको बाकु सहरमा आयोजना हुने वल्र्ड च्याम्पियनसिपमा सहभागी हुने तेक्वान्दो खेलाडीको बिदाइ गरिएको छ । आठ खेलाडी र दुई प्रशिक्षकलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले बुधबार मन्त्रालयमा बिदाइ गरेका हुन् ।

 

वल्र्ड च्याम्पियनसिपमा नेपालका चार महिला र चार पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषको ६८ केजी तौल समूहमा वीर महरा, ८७ केजीमा निरज देउवा, ६३ केजीमा गोविन्दबहादुर आले र ५४ केजी तौल समूहमा सुमित विष्टले प्रतिस्पर्धा गर्ने छन् । यस्तै महिलाको ४६ केजी तौल समूहमा युनिशा राई, ४९ केजीमा काजल श्रेष्ठ, ५३ केजीमा आयशा लामा र ६७ केजी तौल समूहमा इन्दिरा बस्नेतले प्रतिस्पर्धा गर्ने छन् । टिम प्रशिक्षकको भूमिका नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका बब्लु सिवाकोटी र ओलम्पियन निशा रावल निर्वाह गर्ने छन् । नेपाली टोली बिहीबार अजरबैजान प्रस्थान गर्नेछ ।
नेपाली टोलीलाई सफलताको शुभ कामना दिँदै मन्त्री लिम्बूले वल्र्ड च्याम्पियनसिपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको शिर उँचो बनाउन खेलाडीलाई आग्रह गरे । कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशम्शेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, महासचिव दीपराज गुरुङ, केन्दीय सदस्य कुमार लामा घिसिङलगायतको उपस्थिति थियो ।