काठमाडौं : १९औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका तेक्वान्दो खेलाडीले ललितपुरको नखिपोटमा रहेको सुनिल गोल्ड जिममा निशुल्क पावर ट्रेनिङ गर्न पाउने भएका छन् । नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका सुनिल राजकर्णिकारले खेलाडीलाई निशुल्क जिमको सुविधा प्रदान गरेका हुन् ।
जिम सञ्चालकसमेत रहेका सुनिलले १९औं एसियाली खेलकुदको बन्द प्रशिक्षण सञ्चालन हुञ्जेलसम्मका लागि खेलाडीलाई जिमको सुविधा उपलब्ध गराएको प्रशिक्षक कुमार लामा घिसिङले जानकारी दिए । उनका अनुसार हरेक साता सोमबार र बिहीबार सुनिल गोल्ड जिममा पावर ट्रेनिङ सञ्चालन हुनेछ ।
चीनको हाङझाउमा असोज ६ गतेदेखि सुरु हुने एसियाली खेलकुदमा तेक्वान्दोका ११ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा पाँच महिला र ६ पुरुष छन् । ग्योरोगीतर्फ महिला ४९ केजीमा अञ्जली तामाङ, ५३ केजीमा आयशा लामा, ५७ केजीमा सन्ध्याकुमारी सिंह र ६७ केजी तौल समूहमा इन्दिरा बस्नेतले प्रतिस्पर्धा गर्ने छन् । यस्तै पुरुषको ५८ केजीमा राहुल कुमाल, ६३ केजीमा गोविन्द्रबहादुर आले, ६८ केजीमा वीरबहादुर महरा, ८० केजीमुनिमा अभिषेक बराल र ८० केजीमाथिको तौल समूहमा ज्याकी यादवले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । यस्तै पुम्सेको महिलामा स्वस्तिका तामाङ र पुरुषमा प्रेमबहादुर लिम्बूले प्रतिस्पर्धा गर्ने छन् ।
१९औं एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदै छ । जसमा २ सय ३४ खेलाडी सहभागी हुने छन् । प्रतियोगिताका लागि नेपालले स्वदेश तथा विदेशमा विशेष तयारी गरिरहेको छ । तेक्वान्दोले भने सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा विशेष तयारी गरिरहेको छ । खेलाडीलाई टार्जन सुब्बा, कविराज खड्गी र कुमार लामा घिसिङले प्रशिक्षण दिइरहेका छन् ।