‘कुकुल्याण्ड’ टेलिकम भ्रष्टाचार वृत्तान्तमा प्रधानमन्त्री प्रचण्ड पनि जोडिए

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८१ वैशाख ०२ आइतबार
‘कुकुल्याण्ड’ टेलिकम भ्रष्टाचार वृत्तान्तमा प्रधानमन्त्री प्रचण्ड पनि जोडिए

काठमाडौं : ‘कुकुल्याण्ड’ पुस्तकले नेपालका टेलिकम कम्पनीहरूको स्थापना, शेयर खरिदबिक्री र नवीकरण प्रकरणमा भएका अनियमिततामा प्रधानमन्त्री पुष्पकमल दाहाल, व्यवसायी अजेय सुमार्गी र पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ समेत जोडिएको देखाएको छ । कुनै बेला अवैध काठ ओसारपसार गरेको अभियोगमा पक्राउ परेका भनिएका हेटौंडाका अजेय सुमार्गी बेलायती बिचौलिया मोहम्मद अमेर्सीको आशीर्वादमा कसरी अर्बपति भए भन्ने पुस्तकमा उल्लेख छ । समग्रमा ‘कुकुल्याण्ड’ले नेपालमा टेलिकम भ्रष्टाचारको वृत्तान्त नै दिएको छ ।

‘कुकुल्याण्ड’ बेलायती पत्रकार टमले बरजिसको नयाँ किताब हो । केही हप्ता पहिले मात्र बजारमा आएको यो पुस्तक बिक्रीका लागि सबै देशमा पुगिसकेको पनि छैन । तर, पनि डिजिटल भर्सन र सीमित उपलब्धताका बाबजुद पनि यसमा छापिएको विषयवस्तु बारे चौतर्फी चर्चा सुरु भइसकेको छ । ‘द लुटिङ मेसिन’ र ‘क्लिप्टोपिया’ जस्ता बेस्ट सेलिङ पुस्तकका लेखक बरजिस युद्ध सरदार, संगठित अपराध, अवैध व्यापार र कालो धनका बारेमा केन्द्रित भएर रिपोर्टिङ गरिरहेका पत्रकार हुन् । प्रकाशित उनका सबै किताब उनको रुचिका तिनै विषयवस्तुमा केन्द्रित छन् ।

सुमार्गीलाई प्रहरीले अवैध काठ ओसारपसार गरेको आरोपमा केही समय पक्राउ गरेर छोडेको प्रसंग पनि पुस्तकमा छ । काठ ओसारपसार मामिलामा प्रहरीले पक्राउ गरेपछि मात्रै सुमार्गी राजधानी छिरेका थिए । त्यसपछि उनको आर्थिक हैसियत आश्चर्यजनक रूपमा चुलियो ।

बेलायती पत्रिका ‘फाइनान्सियल टाइम्स’मा आबद्ध भएर लामो समय अफ्रिकी मुलुकमा रिपोर्टिङ गरेका उनले केही वर्ष पहिले त्यहींको बहुमूल्य प्राकृतिक खानीमा हुने अवैध कारोबारमा केन्द्रित भएर ‘द लुटिङ मेसिन’ पुस्तक लेखेका थिए । त्यसपछि उनले रसिया, अमेरिका, न्यूजिल्याण्ड, बेलायत, अफ्रिकी मुलुक र अरबमा रिपोर्टिङ गर्ने क्रममा ‘क्लिप्टोपिया’ लेखे । जसमा कालोधनले संसारभर कसरी पकड जमाइरहेको छ र ती देशको अर्थतन्त्रको अवस्था कस्तो छ भनेर समेत उजागर गरिएको छ । पुस्तकमा धनी मुलुकका पनि धनाढ्य भनिएका व्यक्ति कसरी कालो धनको धन्दामा जोडिएका छन् भन्ने प्रसङ्ग खोतलिएको छ ।

लेखक बरजिसले ‘क्लिप्टोपिया’ मा प्रकाशित विवरणलाई लिएर आफूलाई उद्यमी, परोपकारी र विचारकको परिचय दिने तर खासमा अवैध रूपमा पैसाको भरमा टेलिकम व्यवसायमा रहेकाहरूका लागि बिचौलियाको रूपमा काम गरिरहेका बेलायती नागरिक मोहम्मद अमेर्सीसँग कानुनी लडाइँ नै लड्नुपर्‍यो । अमेर्सी आफैं टेलिकम बिचौलिया हुन् । सञ्चारमाध्यमले आफूले भने जस्तो नलेखे वा प्रसारण नगरे अदालतमा मुद्दा हालेर विरोधी र प्रेसको मुख बुजो लगाइदिने तिनै अमेर्सीसँग किताबका कारण टमले बेलायतमा कानुनी लडाइँको सामना गर्नुपर्‍यो ।

अदालती लडाइँमा बरजिसको हात माथि पर्‍यो । त्यससँगै उनले पत्रिकाको नियमित जागिर छोडे । भ्याएको बेला रिपोर्टिङ गर्ने गरेर गार्डियनको खोज पत्रकारिता ब्यूरोमा आवद्ध भए । तर, उनले अधिकांश समय मोहम्मद अमेर्सीको संलग्नता भएका अफ्रिकी र एसियाली देश पुगेर आफैं रिपोर्टिङ गरे । बेलायतमा बसेर ती देशका बिचौलियाहरूले अमेर्सीको कालो धनको व्यापारलाई चलायमान हुन कसरी सहयोग गरिरहेका छन् भनेर तीन वर्ष अध्ययन अनुसन्धानमा बिताए ।

त्यही लामो अनुसन्धान पछि प्रकाशित भएको हो, ‘कुकुल्याण्ड’ । जसको अर्थ हुन्छ वास्तविकता र व्यावहारिकता भन्दा पनि आफ्नै सोचमा रमाइरहेकाहरूको भूमि । ती व्यक्तिहरूका लागि उनीहरूले ठानेको मात्रै सत्य हुन्छ । तर, प्राप्त विवरण र तथ्यका आधारमा लेखक बरजिसले सत्य उनीहरूले भनेको भन्दा उल्टो रहेको भेट्टाए । उनीहरूको अनुहार देखिए भन्दा फरक थियो । किताबमा त्यही सत्य अन्वेषण गरिएको छ ।

विभिन्न देशमा भएका टेलिकम भ्रष्टाचारको नालीबेली उत्खनन् गरिएको ‘कुकुल्याण्ड’मा नेपालको टेलिकम भ्रष्टाचारका विभिन्न प्रसङ्गहरूमा सविस्तार चर्चा गरिएको छ । नेपालमा भएको टेलिकम भ्रष्टाचारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम पनि उल्लेख भएको भेटिन्छ ।

सँगै त्यतिबेला सूचना तथा सञ्चार मन्त्रालय सम्हालेका माओवादी नेता, माओवादीको शिविर घोटाला काण्ड र माओवादीको आडभरोसामा उदाएका व्यवसायी अजेयराज सुमार्गी, तत्कालीन राजपरिवार र निजी टेलिकम कम्पनी सञ्चालकहरूको प्रसङ्गको व्याख्या गरिएको छ-पुस्तकको मिस्टर एक्सवाई शीर्षकमा ।

भर्खरै युद्ध गरेर काठमाडौं आएका प्रचण्डलाई सुमार्गीले उनको लागि आवश्यक सबै बन्दोबस्त मिलाएको, बस्ने बास दिएको, राम्रो ब्रान्डको ह्विस्की खुवाएको प्रसङ्गहरू पुस्तकमा छन् । प्रचण्डलाई रक्सीको स्वाद मन परेको र उनका लागि सुमार्गीले रक्सीको खोलो नै बगाएको प्रसंग पुस्तकमा उल्लेख छ । ‘सुमार्गीले राम्रो बोतल राख्छन् । आफ्ना मालिकको लागि रक्सीको खोलो नै बग्छ।

तीन पटक देशको प्रधानमन्त्री भएका प्रचण्डसँग राजावादीहरूको संगतमा रहेका अजेय सुमार्गीको निकटता, हेलो नेपालको स्थापना, टेलियासोनेराको हेलो नेपालमा भएको लगानी र एनसेल खरिदबिक्री प्रकरणमा उनीहरूको संलग्नता पुस्तकमा देखाइएको छ ।

सत्र खण्डमा लेखिएको किताबको एक खण्ड टेलियासोनेराको सल्लाहकारको रूपमा काम गरेका टेलिकम बिचौलिया मोहम्मद अमेर्सीको आशीर्वादमा सुमार्गीले आर्जन गरेको सम्पत्तिको सम्बन्धमा छ । बिचौलिया अमेर्सीले सुमार्गीलाई कसरी बिचौलियाको रूपमा प्रयोग गरेर माओवादी र नेपाल दूरसञ्चार  प्राधिकरणलाई प्रभावमा पारे भन्ने विषय रोचक ढंगले रिपोर्टिङ शैलीमा प्रस्तुत गरिएको छ ।

दरबार हत्याकाण्ड र ज्वाइँको टेलिकम व्यवसाय

पुस्तकमा युवराज दीपेन्द्रले गराइएको भनिएको राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र सहित उनको वंशविनाश भएपछि ज्ञानेन्द्र राजा भएको र उनैले पछि प्रत्यक्ष शासन गरेको प्रसङ्ग लेखकले निकालेका छन् ।

राजदरबार हत्याकाण्डको प्रसङ्ग उप्काउनुको कारण लेखककै शब्दमा ‘प्रायजसो काठमाडौंका क्यासिनो र होटलमा समय बिताउने’ ज्ञानेन्द्रका ज्वाईंले निजी टेलिकमको लाइसेन्स लिएर व्यवसायमा आएकोसँग सम्बन्धित छ ।

पुस्तकका अनुसार, राजदरबार हत्याकाण्डपछि काठमाडौंबाट ६ घन्टाको दूरीमा रहेको हेटौंडाबाट आएका अजेय सुमार्गी र ज्ञानेन्द्रका ज्वाइँको भेटघाट हुन्छ । सुमार्गीले राजदरबार हत्याकाण्डमा मारिएकी अधिराजकुमारीको सम्पत्ति नयाँ राजा ज्ञानेन्द्रकी छोरीको नाममा दर्ता गर्न सहयोग गर्छन् ।

त्यसबाहेक कतिले सुमार्गीको भूमिका राजपरिवारका सदस्यलाई सहयोग गर्ने, कतिले गोप्य कागजातहरू मिलाउने भएको उल्लेख गरेको विषय पुस्तकमा समेटिएको छ । यसरी सुमार्गीको हिमचिम राजदरवारसँग झन् प्रगाढ भएको पुस्तकले बताउँछ । त्यो सम्पत्ति ज्ञानेन्द्रकी छोरीको नाममा दर्ता गर्न सफल भएपछि राजाका ज्वाइँको कृपाले सुमार्गीको उदय टेलिकम व्यवसायीको रूपमा हुन्छ ।

पुस्तकमा अजय सुमार्गी टेलिकम व्यवसायी हुनुअघि उनको आर्थिक हैसियतको बारेमा पनि चर्चा गरिएको छ । उल्लेख भए अनुसार, हेटौंडामा अजेयका बुबाको चुनढुङ्गा उद्योग थियो । जसले गर्दा उनको आर्थिक अवस्था गाईबाख्रा चराएर वा लुकीछिपी गाँजा खेती गरेर हातमुख जोहो गर्ने अन्यको भन्दा राम्रै थियो । तर, मोटरसाइकल दुर्घटनामा उनका बुवाको मृत्यु भएपछि सुमार्गीको भविष्यमा ठेस लाग्यो ।

हेटौंडाका स्थानीयहरूसँग गरिएको अन्तर्वार्ताका आधारमा उनले ‘उनकी आमा साँझको खाना पकाउनु अघि पैसा नपुगेर किन्न खोजेको मासु नभई बोइलर चिकेन किन्थिन्’ भनेर किताबमा लेखेका छन् । यसरी ‘बोइलर चिकेन’ बाट अजेय कसरी बिलिनियर अर्थात् अर्बपति भए भन्ने प्रसङ्ग जोड्न उनको पुरानो अवस्थाको व्याख्या गरिएको छ ।

सुमार्गीलाई प्रहरीले अवैध काठ ओसारपसार गरेको आरोपमा केही समय पक्राउ गरेर छोडेको प्रसंग पनि पुस्तकमा छ । काठ ओसारपसार मामिलामा प्रहरीले पक्राउ गरेपछि मात्रै सुमार्गी राजधानी छिरेका थिए । त्यसपछि उनको आर्थिक हैसियत आश्चर्यजनक रूपमा चुलियो ।

पुस्तकमा उल्लेख भए अनुसार अहिले अजेयको आर्थिक हैसियत देश भित्र र देश बाहिर बस्ने नेपालीको भन्दा धेरै राम्रो छ । उनको आर्थिक हैसियत ज्ञानेन्द्रका ज्वाइँलाई भेटेपछि परिवर्तन भएको हो ।

सुमार्गीलाई चिन्ने केही राजावादी सुरुमा उनले ज्वाइँका अतिथिहरूलाई स्वागत गर्ने काम गरेको बताउँछन् । केहीले ज्वाइँको लागि सम्पत्ति नामसारी र गोप्य कागजात मिलानमा उनले काम गरेको बताएको पुस्तकमा उल्लेख छ ।

माओवादी संलग्नता 

पुस्तकले माओवादी र टेलिकम कम्पनीहरूको सम्बन्ध पनि खोतलेको छ । १६ हजार नेपालीको ज्यान लिने सशस्त्र युद्धपछि सन् २००६ मा भएको सडक आन्दोलनले ज्ञानेन्द्रको निरंकुशता असफल बनायो । स्वाभाविक रूपमा सत्ताच्यूत भएपछि राजदरबारको प्रभावमा कमी आयो ।

पुस्तकका अनुसार युद्धका बेला ‘बैंक लुटपाटमा संलग्न भएका’ माओवादीले त्यसपछि नक्कली लडाकुको नाममा पैसा जम्मा गरे । पुस्तकमा ‘श्रीपेच जलाऔं’ भन्दै हतियार बिसाएर सडकमा आएका माओवादी संसद्को सबैभन्दा ठूलो दल बनेको चर्चा गरिएको छ ।

विस्तारै सुमार्गी माओवादी नेतृत्वसँग नजिक भए । त्यो समय नेपालमा लगानी गर्न चाहने पश्चिमा टेलिकम कम्पनीहरूले अध्ययनका लागि खुफिया परिचालन गरेका थिए ।

नेपालमा टेलिकम उद्योग उदाइरहेको समय थियो त्यो । पश्चिमा खुफियाहरूले त्यो बेला माओवादी नेतृत्वको विश्वासिलो सम्पर्क सूत्रका रूपमा सुमार्गीलाई भेट्टाएको प्रसंग पुस्तकमा उल्लेख छ ।

माओवादीसँग नजिक हुन सुमार्गीले के के गरे ? भर्खरै युद्ध गरेर काठमाडौं आएका प्रचण्डलाई सुमार्गीले उनको लागि आवश्यक सबै बन्दोबस्त मिलाएको, बस्ने बास दिएको, राम्रो ब्रान्डको ह्विस्की खुवाएको प्रसङ्गहरू पुस्तकमा छन् । प्रचण्डलाई रक्सीको स्वाद मन परेको र उनका लागि सुमार्गीले रक्सीको खोलो नै बगाएको प्रसंग पुस्तकमा उल्लेख छ । ‘सुमार्गीले राम्रो बोतल राख्छन् । आफ्ना मालिकको लागि रक्सीको खोलो नै बग्छ’, पुस्तकमा उनले लेखेका छन् ।

सुमार्गीको अपत्यारिलो आर्थिक हैसियत परिवर्तनप्रति सबैले शंका गरिरहेको बेला माओवादीले उनलाई कालो धनतर्फ धकेलेको र त्यहीबेला उनको भेट ‘भविष्यका कल्याणकारी’ मोहम्मद अमेर्सीसँग भएको पुस्तकमा उल्लेख छ । पुस्तकका अनुसार, सुमार्गीले पछि उनलाई प्रचण्डसँग भेट गराएका थिए ।

बरजिसले अमेर्सीसँग अन्तर्वार्ता लिने क्रममा आफू सहित टेलियासोनेराका कार्यकारी प्रमुख लार्स नेइबर्ग र उनका दुई जना विश्वासपात्र अनि एक जना धनी नेपाली साझेदारले नेपाली प्रधानमन्त्री प्रचण्डसँग भेटेको प्रसंग उल्लेख गरेका छन् ।

भेटमा प्रधानमन्त्रीले उनीहरूलाई सबैभन्दा ठूलो करदाताको रूपमा स्वागत गरेको र वैदेशिक लगानी गर्न आह्वान गरेको प्रसङ्ग पनि उल्लेख छ ।

भेटमा टेलियासोनेराका प्रतिनिधिले नेपालमा भएको प्रगतिबारे सन्तोष व्यक्त गरेर केही समस्या भोगिरहेको बताएका थिए । प्रधानमन्त्री दाहालले अमेर्सी मार्फत त्यतिबेला नेपालमा सञ्चालन भइरहेका तीन टेलिकम कम्पनीलाई मिलाएर लैजान सुझाव दिएका थिए ।

‘एक हिसाबले हेर्दा तपाईंले केही गर्नुपर्दैन तर यो समस्या समाधान बारे सोच्नुहोस् कि नेपालमा भएका तीन टेलिकम सञ्चालकलाई मिलाउनुस्’ प्रचण्डको भनाइ उद्धृत गर्दै पुस्तकमा लेखिएको छ । अर्को शब्दमा भन्दा एउटा मोबाइल कम्पनी किन्न भनिएको थियो । त्यतिबेला अजेय सुमार्गीको हेलो नेपाल दर्ता भइसकेको थियो । राजदरबारको शक्ति कमजोर भएपछि सुमार्गी माओवादीका प्रिय भएका थिए ।

सन् २००९ मा दाहाल आफैंले माओवादी प्रभाव क्षेत्रको रूपमा रहेको मध्यपश्चिम क्षेत्रमा टेलिकम कम्पनी हेलो नेपाल उद्घाटन गरेका थिए ।

यसैगरी सुमार्गीलाई मोबाइल कम्पनी सञ्चालनको लाइसेन्स पनि माओवादीको पहिलो सरकारका सञ्चार मन्त्री (हाल सुनकाण्डमा प्रहरी अनुसन्धानमा रहेका कृष्णबहादुर महरा) ले दिएको प्रसंग पुस्तकमा उल्लेख छ ।

पछि ती मन्त्रीलाई सुमार्गीले धनी बनाइदिएको आरोप लागेको पुस्तकमा उल्लेख छ । त्यो आरोपको स्वतन्त्र पुष्टि नभए पनि प्रक्रिया विना हठात् लाइसेन्स दिएर राज्यलाई करोडौं डलर घाटा भएको निष्कर्ष संसदीय समितिको रहेको पुस्तकमा उल्लेख छ ।

सुमार्गीलाई टेलियासोनेराको आशीर्वाद

सुमार्गीको मोबाइल कम्पनी हेलो नेपालले माओवादीको पकड क्षेत्र भनिएको तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रमा व्यवसाय गर्न सकेन । स्थानीयको आर्थिक हैसियत उनीहरूलाई मुक्ति दिलाउने माओवादीको भन्दा निकै कमजोर थियो ।

दुई वर्षमा त्यो क्षेत्रका जम्मा ८९ हजारले मात्रै हेलो नेपालको सिम लिए । अर्थात् गाउँका सबै बासिन्दा मोबाइल बोक्न सक्ने हैसियतका पनि थिएनन् । यसले गर्दा त्यतिबेला हेलो नेपालको उपस्थिति बजारमा एक प्रतिशत पनि हुन सकेन ।

‘सबै जोड्दा पनि हेलो नेपालको मूल्य ६० मिलियन डलर भन्दा बढी थिएन । तर पनि टेलियासोनेराले चार गुणा बढीमा किन्न खोजिरहेको थियो । किनकि अजेय सुमार्गीले निकै बहुमूल्य चिज बेचिरहेका थिए’, पुस्तकमा लेखिएको छ ।

तिनै मोहम्मद अमेर्सीले सुमार्गीलाई काठमाडौंमा भेटिसकेपछि दुई जना बीच भएको इमेल कुराकानीलाई उद्धृत गर्दै लेखिएको छ, ‘काठमाडौंमा भेट्न पाउँदा खुसी लागेको छ । प्रचण्डसँग भेट गराइदिएकोमा धन्यवाद ।’

त्यसपछि अमेर्सीले हेलो नेपालका बारेमा सुमार्गीलाई केही प्रश्न सोधेको र सुमार्गीले दिएका जवाफ उनले नै टेलियासोनेराको उज्बेकमा रहेको युरासिया टीम लगायतलाई फरवार्ड गरिदिएको पुस्तकमा लेखिएको छ ।

‘यदि उनीहरूले उसको कम्पनी किनेनन् भने मिस्टर सुमार्गी हामी विरुद्ध लागेर एनसेलको विरुद्धमा लविङ गर्न सक्छन्’, सुमार्गीको राजनीतिक सम्पर्क र सहयोगबारे उल्लेख गर्दै अमेर्सीले डिल गरिरहेको युरेसियाको प्रमुख टेरो किविसारीलाई भनेका छन् ।

यो कुरामा टेलियासोनेराका लागि काम गर्ने दुवै जना सहमत हुन्छन् । एक प्रस्तुतीकरणका क्रममा टेरोले सुमार्गीलाई ‘माओवादीसँग सम्पर्क भएको एक स्थापित व्यवसायी’ भनेर चिनाएको अनि ‘उनलाई तत्कालै ३० मिलियन डलरको खाँचो परेको भनेको’ पुस्तकमा लेखिएको छ ।

टेरोको भनाइलगत्तै टेलियासोनेराको ३० मिलियन डलर तत्कालै ब्रिटिश भर्जिन आइसल्याण्डको कम्पनीमा पठाएको र अजेयले त्यहीं सुरक्षित र गोप्य तरीकाले राखेको तथ्य पुस्तकमा उल्लेख छ । त्यसको एक महिना पछि अर्थात् २०११ को जुलाईमा ‘सुमार्गीकी श्रीमतीले उनकी दिदीलाई एक मिलियन डलरको तीन चौथाइको चेक थमाएको’ र त्यसको भोलिपल्ट ‘लाजिम्पाटमा रातो रंगको भव्य घर किनेको विषयमा नेपाली पत्रिकामा समाचार प्रकाशित भएको’ पुस्तकमा उल्लेख छ ।

बरजिसले सुमार्गीकै कारण नेपालमा टेलियाको शक्तिको ढोका खुलेको उल्लेख गरेका छन् । अन्तर्वार्ताका क्रममा सुमार्गीसँग काम गरेकाहरूले माओवादीलाई पैसामा किन्नु नै सुमार्गीको शक्ति भएको बताएको पुस्तकमा उल्लेख छ ।

पुस्तकका अनुसार त्यो घर उनी आफू बस्नका लागि नभई प्रचण्डका लागि थियो । लामो समयसम्म प्रचण्ड निवास बनेको सोही घरबाट उनले शासन चलाएका थिए । माओवादी पार्टीले घरको विषयमा एक आन्तरिक समिति गठन गरेर छानबिन गरे पनि प्रतिवेदन सार्वजनिक नगरिएको लेखकले उल्लेख गरेका छन् ।

केही महिनापछि सुमार्गीले टेलियासोनेराबाट थप पैसा पाएको विवरणमा लेखिएको छ । यसअघि पाएको ३० मिलियन डलर समेत जोडेर कुनै स्क्यान्डिनेभियनका व्यवसायीले ४८ मिलियन डलरमा हेलो नेपालको सेयर किनेको पुस्तकमा लेखिएको छ । त्यो पैसा हेलो नेपालका लागि बैंकहरूले मूल्यांकन गरेभन्दा धेरै थियो । लेखिए अनुसार पनि टेलियासोनेरा सुमार्गीले जति बार्गेनिङ गरे पनि पैसा दिन तयार थियो ।

पुस्तकमा लेखिए अनुसार, यदि सुमार्गीले केही गरेर सरकारी अधिकारीलाई मनाउन सकेमा टेलियासोनेरा थप २०० मिलयन डलर दिन सक्ने अवस्थामा थियो । त्यसका लागि सुमार्गीले सरकारी अधिकारीलाई एनसेलको लाइसेन्स नवीकरण गराउन सहयोग गर्ने, सकेसम्म टेलियासोनेराको पक्षमा निःशुल्क लबिङ गर्दिने, कैयौं वर्षको ब्याज मिनाहा गर्ने, फेरि नवीकरण गर्ने र थ्रीजी सेवा सञ्चालनमा सहयोग गरिदिनुपर्ने थियो ।

बरजिसले सुमार्गीकै कारण नेपालमा टेलियाको शक्तिको ढोका खुलेको उल्लेख गरेका छन् । अन्तर्वार्ताका क्रममा सुमार्गीसँग काम गरेकाहरूले माओवादीलाई पैसामा किन्नु नै सुमार्गीको शक्ति भएको बताएको पुस्तकमा उल्लेख छ ।

प्रचण्डले सुमार्गीको कामका लागि एक मन्त्रीलाई प्रभावमा पार्न प्रयास गरेको जानकारी आफूले पाएको पुस्तकमा लेखिएको छ ।

पुस्तकका लागि अन्तर्वार्ताका क्रममा लेखकले सुमार्गीसँग लामो समय काम गरेका व्यक्तिहरूसँग भेटेका थिए । तिनका अनुसार, माओवादीले अवैध रूपमा आर्जन गरेको सम्पत्ति सुमार्गी मार्फत परिचालन गरेका थिए । ‘प्रचण्डको सम्पत्ति उनले (सुमार्गीले) आफ्नो नाममा दर्ता गरे । प्रचण्डलाई प्रभावमा राखेर उनको पैसा प्रयोग गर्न सक्षम भए’, पुस्तकमा लेखिएको छ ।

अनलाइनखबरबाट साभार